छाउ भएकी छोरीबुहारी, घरभित्रै राख्ने पुजारी

 फागुन ५, २०७६ सोमबार १५:५९:४० | इन्द्रसरा खड्का

सेतो दौरा सुरुवाल, त्यसमाथि जुवारी कोट र शिरमा ढाका टोपी । गलामा तुलसीको माला र सँगै बेरेको गलबन्दी । गोरो वर्ण र चुच्चो परेको नाक । करिब ५ फिट उचाइको हुनुहुन्छ पुजारी रंगप्रसाद उपाध्याय । दैलेखको आठबीस नगरपालिका ६ का उपाध्याय उमेरले ७१ वर्ष पुग्नुभयो ।

गाउँमा पूजापाठ गर्दै उहाँका दिनहरु बित्छन् । कहिले दैलेख त कहिले अछामका गाउँहरुमा पुजारीको काम गर्न पुग्नुहुन्छ उहाँ । ६ छोराछोरीका बुवा रंगप्रसादका  अहिले छोरी, छोराको गरी २५ जना नातिनातिना छन् ।

कुइँकेलदेवी भगवती मन्दिरका पुजारी रंगप्रसाद छाउपडीलाई घरभित्रै राख्ने गाउँकै पहिलो व्यक्ति हुनुहुन्छ । आजभन्दा १३ वर्ष पहिले उहाँले छाउगोठमा बसेकी बुहारीलाई घरभित्र राख्नुभयो ।

घरभित्रै बस्दा केही हुँदैन भन्ने चेतना भएर भने होइन, उहाँले त्यो बेला बाध्यताले बुहारीलाई घरभित्र राख्नुभएको थियो ।

‘अर्को मनले मानेको थिएन’ 

२०६३ साल असोज २२ गते रंगप्रसादकी जेठी बुहारी तुलसीदेवी छाउ (महिनावारी) भएको तीन दिन भएको थियो । छाउ भएकी बुहारी घरभन्दा टाढा छाउगोठमा बस्नुभएको थियो ।

आमासँगै ७ महिनाकी छोरी पनि थिइन् । छोरीसँगै चिसो रातमा तुलसीले छाउगोठ बस्दा छोरीलाई बिरामीले नराम्ररी च्याप्यो । चिसोले केटाकेटीलाई निमोनिया लाग्छ भन्ने कुरा रंगप्रसादलाई थाहा थियो । उहाँले नातिनीलाई निमोनिया लाग्ने भन्दै छाउ भएकी बुहारीलाई गोठबाट घरको भान्छामा राख्नुभयो ।

भान्छामा छाउपडी ल्याउँदा रंगप्रसादको अर्को मनले मानेकै थिएन । भान्छामा ल्याउनुभन्दा पहिले रंगप्रसादले देवतालाई चामलको दाना छुट्याएर प्रार्थना गर्नुभयो । ‘हे भगवान, मैले मेरो नातिनीलाई जोगाउन यो पाप गर्दै छु । गोठको चिसोमा बस्दा नातिनीको ज्यान खतरामा हुनेछ । त्यसैले यो मेरो बाध्यता हो ।’ यसमा आफूलाई कुनै दोष नहोस् भन्दै देवतालाई उहाँले भेटी चढाउनुभयो ।

तीन दिनको छाउ भएकी बुहारी ५ दिनसम्म तातो गरेर भान्छामै बस्नुभयो । तुलसी भान्छामा बस्दा छोरीलाई सञ्चो भयो । डरैडरले बुहारीलाई घरभित्र राखेको कुरा रंगप्रसादले गोप्य राख्नुभयो ।

एक महिनासम्म पनि परिवारमा कुनै अनिष्ट नभएपछि रंगप्रसादले अर्कोपटक पनि छोरीबुहारीलाई घरकै एक कोठामा राख्न थाल्नुभयो । छाउपडी गोठलाई भत्काएर शौचालय बनाउनुभयो । 

गाउँलेको विरोध 

मन्दिरमा पूजाआजा गर्ने धार्मिक गुरु रंगप्रसादले छाउपडीलाई घरमै राखेको कुरा गाउँलेले थाहा पाए । उनीहरुलाई सुरुमा विश्वासै लागेन । जब उनीहरुले साँचो कुरा थाहा पाए, अचम्ममा परे । गाउँमा खैलाबैला मच्चियो । 

पुजारीले नै छाउ भएकी छोरीबुहारीलाई घरमा राख्यो भन्दै धेरैले विरोध गरे । उहाँको आफ्नै दाइभाइले पनि घरमा छाउपडी राखेको भन्दै गाली गरे । तर, रंगप्रसादले कुनै प्रतिक्रिया दिनुभएन । 

बाघले बाख्रा मार्दा
छोरी र बुहारीलाई घरमा राखेको दुई महिनापछि मंसिर २ गते राति रंगप्रसादका घरको गोठमै बाघले बाख्रो मारिदियो । सबैजना निदाएको बेला गोठमा बाघ पसेपछि बाख्रा करायो । 

मस्त निन्द्रामा रहनुभएका रंगप्रसाद र उहाँको परिवारले उज्यालो लिएर गोठमा हेर्दा बाख्रा मरेको भेट्नुभयो । गोठभित्रै बाघले बाख्रा मारेपछि गाउँलेले देवता रिसाएको बताए ।

छाउपडीलाई घरभित्र राख्दाको परिणाम देवताले बाख्राको ज्यान लिएर देखाएको भन्दै सबैले अडकल काटे । गाउँमा फेरि अनिष्ट हुने भन्दै गाउँलेले रंगप्रसादलाई देवता पुज्न आग्रह गरे । तर, रंगप्रसादले गाउँलेको कुरा सुन्नुभएन । उहाँले देवता रिसाएर नभइ आफ्नै लापरवाहीले बाघले बाख्रा खाएको तर्क गर्नुभयो ।

‘गोठमा राम्रोसँग ढोका नै लगाएको थिएन । नजिकै जंगल छ । मेरै लापरवाहीले बाघले बाख्रा खाएको हो । यसमा देवता होइन, मेरो दोष हो,’ भन्दै रंगप्रसादले गाउँलेलाई सम्झाउनुभयो ।

बिस्तारै गाउँमा छाउपडी कुप्रथाका बारेमा बहस हुन थाल्यो । महिनावारी भएको महिलालाई गोठमा राख्नु हुँदैन, घरमै सुरक्षित बस्न दिनुपर्छ भन्दै गाउँमा विभिन्न संघसस्थाले काम गर्न थाले । त्यसपछि रंगप्रसादलाई गाउँलेका प्रश्नहरुको जवाफ दिनुपरेन । 

धुलौटो हेर्न बन्द गर्नुपर्छ 

मान्छे बिरामी पर्दा, गाईबाख्रा बाघले खाँदा गाउँघरमा धुलौटो हेर्ने चलन छ । धुलौटो प्रायः ब्राह्मणले हेर्ने गर्दछन् । त्यस्तै धामीझाँक्री कहाँ पनि जाने चलन छ । धामीझाँक्री कहाँ जानेबित्तिकै कुनै न कुनै देवता लागेको भन्दै उनीहरुले बलि र भाग माग्ने गर्दछन् ।

धामीझाँक्रीले भन्नेबित्तिकै बोका, कुखुरा छुट्याउनुपर्छ । महिला बिरामी पर्दा ‘माइतेदेवता’ लाग्यो भन्ने, भैंसी बिरामी हुँदा ‘पितर’ लाग्यो भन्ने, घरमा बाघ आउँदा छाउपडीको छुइ लाग्यो भन्ने चलन समाजमा ठूलो चुनौती बनेको छ ।

जबसम्म धुलौटो हेराउन रोकिँदैन, तबसम्म यो प्रथा चलिरहने पुजारी रंगप्रसाद बताउनुहुन्छ । ‘आफ्नो गोठबाट बाघले बाख्रो मार्दा देवताको विश्वास मानेको भए म पनि परिर्वतन हुने सक्ने थिइनँ,’ उहाँको तर्क छ । 

महिला नै परिवर्तन हुनुपर्छ

पुरुषहरुको दबाबले महिलाहरु छाउगोठमा बस्न बाध्य हुन्छन् भन्ने कुरा आइरहँदा रंगप्रसाद भने महिलाहरुले भित्र बस्न नमान्ने गरेको बताउनुहुन्छ । गाउँमा अहिले पनि धेरै महिलाहरु आफैँ अलग बस्ने गरेका छन् । महिलाले कसैलाई थाहै नदिइ घरमै बसे कसैले नसोध्ने भन्दै उपाध्याय महिला परिवर्तन हुनुपर्नेमा जोड दिनुहुन्छ । 

गाउँमा रुखबाट, भिरबाट मान्छे लड्दा, बाघले बाख्रा खाँदा देवता रिसाएको भन्ने गरेका गाउँले अहिले आफँै परिवर्तन हुँदै गएका छन् । अहिले उनीहरुले नै आफ्ना छोरीबुहारीलाई महिनावारी हुँदा घरमै राख्न थालेका छन् । 

छाउपडी कुप्रथा हो भन्ने गाउँलेले थाहा पाइसकेपछि अहिले रंगप्रसादको गाउँका सबैजना बदलिएका छन् । पहिले रंगप्रसादकै विरोध गर्नेहरु अहिले आफैँ घरभित्र बस्न थालेका छन् । गाउँमा फाट्टफुटट् रहेका छाउगोठ पनि उनीहरुले भत्काइसकेका छन् ।

 अभियानमा गोमा 

रंगप्रसादकी छोरी गोमा आचार्य अहिले छाउपडी गोठमा बस्नुहुँदैन भन्ने अभियानमा लाग्नुभएको छ । १३ वर्षदेखि नै आफ्नो घरमा कोही बाहिर नबसेको भन्दै उहाँ अरु दिदीबहिनीलाई सम्झाउनुहुन्छ । 

छाउपडी गोठमा बस्दा महिलालाई स्वास्थ्यको जोखिमदेखि बलात्कारसम्मका घटना हुन सक्ने भन्दै गोमाले महिलामाझ चेतना फैलाउनुहुन्छ । आफ्नो बुबा भगवतीका पुजारी भएर पनि छाउपडीलाई घरभित्र राख्न तयार हुनुहुन्छ भने तपाईंहरु किन सक्नुहुन्न भन्दै उहाँले गाउँलेलाई प्रश्न गर्नुहुन्छ । 

छुवाछुत र भेदभाव गर्ने धार्मिक गुरु नै परिवर्तन भइसकेकाले अरुलाई परिवर्तन हुन धेरै समय नलाग्ने भन्दै गोमा यो प्रथा बिस्तारै हट्दै जानेमा विश्वस्त हुनुहुन्छ ।
 

अन्तिम अपडेट: जेठ ३, २०७७

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया