एमसीसी नेपालकाे हितमा पास हुन्छ : प्रचण्ड

 फागुन ७, २०७६ बुधबार ११:१:६ | रासस
unn.prixa.net

सुर्खेत – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाले नेपालको राजनीतिक मानचित्र बदलेको बताउनुभएको छ । 

नेकपाद्वारा मङ्गलबार सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय ‘बृहत्तर अगुवा कार्यकर्ता भेला’ काे उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । प्रचण्डले विश्वमा कम्युनिस्ट शक्तिहरु कमजोर भइरहेको बेला नेपालमा भने बलियो भएर आएकाे बताउनुभयाे । 'दुवै पार्टीको एकताबाट एक असाधारण र ऐतिहासिक काम भएको छ', उहाँले भन्नुभयो, 'यसले नेपालको राजनीतिक मानचित्र बदलेको छ ।' 

नेपालका कम्युनिस्टहरुलाई कमजोर पार्न अरबाैँकाे लगानी भइरहेको खुलासा गर्दै अध्यक्ष दाहालले भन्नुभयो, 'समय पाए यसबारे फेहरिस्त भन्न सकिन्छ । कम्युनिष्ट एकता आजको प्रयासले मात्र नभइ विभिन्न ऐतिहासिक कालखण्डदेखिको बहस, छलफल, द्वन्द्ववादी, भौतिकवादी आवश्यकताका आधारमा भएको हो ।' 

पूर्वप्रधानमन्त्री प्रचण्डले विश्वमै कम्युनिस्ट शासन भएको देश नेपाल र कुटनीति पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुने जनाउनुभयो । कार्यदलले ल्याएको प्रतिवेदन सचिवालयको छलफलपछि देशकाे सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतामाथि असर नपर्ने गरी पास हुने उहाँले जानकारी दिनुभयाे । 

प्रचण्डले लिपुलेक, लिम्पियाधुरा, कालापानीका बारेमा भारतीय सरकारलाई लिखित जानकारी गराइसकिएको र अब सरकारले लिपुलेक, लिम्पिलियाधुरा सम्मिलित नेपालको नयाँ नक्सा जारी गर्ने बताउनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया