हामी समृद्धिकाे यात्रामा छाैँ, अवराेध गर्नेलाई पराजित गर्ने छाैँ : प्रधानमन्त्री ओली

 फागुन ७, २०७६ बुधबार १३:४९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले देश बदल्ने अठोटका साथ बढिरहँदा नकारात्मक प्रवृतिको सामना गरिरहनु परेको बताउनुभएको छ । 

आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार गर्ने दिशामा सरकार लागिरहेको अवस्थामा अवरोधको सामना गर्नुपरेको उहाँले बताउनुभयाे । 

७०औँ प्रजातन्त्र दिवसका अवसरमा काठमाण्डाैकाे टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘विकास निर्माणमा बाधा गर्ने  हाल्ने वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने, विकास प्रयासहरुमा व्यवधान गर्ने यस्ता प्रयासहरुलाई हामीले कर्मद्वारा नै पराजित गर्ने छौँ । ’

संविधान र कानुनअनुसार देशलाई अगाडि बढाउने र देशमा लोकतन्त्र र शान्तिका प्रयासहरुलाई व्यवधान पुग्न नदिने कुरामा सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । वर्तमान सरकारले दुई वर्ष पूरा गरे पनि गएकाे वर्षलाई आधार वर्षका रुपमा लिएको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले आधार वर्षलाई टेकर आउँदाे वर्षबाट विकास निर्माणका कामलाई अगाडि बढाएको बताउनुभयो ।

उहाँले नेपालले सन् २०३० भित्रमा दिगो विकासका लक्ष्यहरु हासिल गर्ने अठोट समेत गर्नुभयो । ‘हामी सन् २०२२ सम्ममा नेपालाई अति कम विकसित देशकाे स्तरबाट स्तारोन्नति गर्ने र सन् २०३० भित्र दिगो विकासका लक्ष्यहरु हासिल गर्ने अभियानमा छौँ’, उहाँले भन्नुभयो ।

सरकार 'समृद्ध नेपाली, सुखी नेपाली' को ध्येयका साथ सरकार आर्थिक एवं सामाजिक रुपान्तरणको कार्यभार कार्यान्वयनमा केन्द्रित भएको र त्यसका लागि मित्रराष्ट्रहरुको समेत साथ रहने अपेक्षा सरकारले गरेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले गर्नुपर्ने कामहरुको सूची लामो भएकाले सरकार समृद्धिको यात्रामा लागेको उल्लेख गर्दै सरकारले केही काम सुरु गरेको, केही गर्ने अवस्थामा रहेको र केही सम्पन्न भइसकेको बताउनुभयो । उहाँले सरकार बिल्कुलै नयाँ राज्य प्रणालीको अभ्यासमा रहेकाले बदलिएको प्रणालीलाई हिँडाउन चुनौतिपूर्ण रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एउटा सरकारका ठाउँमा अर्को सरकार बदलिएको जस्तो होइन एउटा प्रणालीका ठाउँमा बदलिएको अर्को प्रणालीको अभ्यास हामी गरिरहेका छौँ ।’ प्रधानमन्त्री ओलले छोटो अवधिमा जनताका आकाङ्क्षा र चाहनाहरु पूरा गर्नुपर्ने चुनौतीसमेत सरकारसामु रहेको बताउनुभयो । उहाँले बदलिएको प्रणालीलाई संस्थागत र सुदृढ गर्दै समृद्धितर्फको यात्रा अगाडि बढाइरहेको अवस्थामा वरोधहरु देखिने गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले जन्मसिद्ध श्रेष्ठताको शासन प्रणालीलाई अन्त्य गरिएको र अब समृद्ध नेपालको निर्माणमा योगदान गर्नुको विकल्प नरहेको समेत बताउनुभयो । उहाँले देशकाे समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षा सफल बनाउन सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

‘लोकतन्त्र इतिहासप्रति गर्व गर्ने, वर्तमानलाई उत्तरदायी हुने र भविष्यप्रति जिम्मेवार हुने सभ्य साशन प्रणाली हो’, उहाँले भन्नुभयो । देशलाई संविधान र कानुन अनुसार अगाडि बढाउने उल्लेख गर्दै ओलीले देशमा लोकतन्त्र र शान्तिका प्रयासहरुलाई व्यवधान पुग्न नदिने प्रतिबद्धता समेत जनाउनुभयो ।

हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने गरिएको छ । एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भइ देशमा प्रजातन्त्र बहाली भएकाे सम्झनामा बुधबार ७०औँ प्रजातन्त्र दिवस मनाइएको हो । दिवसका अवसरमा काठमाण्डाैकाे टुँडिखेल लगायत देशका विभिन्न ठाउँमा विविध कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया