एमसीसीका विषयमा कार्यदलले सुझाव मात्र दिने, निर्णय नगर्ने : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

 फागुन ७, २०७६ बुधबार १८:३२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डै - परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन‍ (एमसीसी) का विषयमा अध्ययन कार्यदलले अध्ययन गरेर सुझाव मात्रै पेश गर्ने प्रष्ट पार्नुभएको छ ।

बंगलादेशको औचारिक भ्रमण सकेर स्वदेश फर्किनुभएका परराष्ट्रमन्त्री ज्ञवालीले कार्यदलले एमसीसीका विषयमा अध्ययन गरेर सुझाव पेश गर्ने तर पारित गर्ने÷नगर्ने विषयमा कुनै निर्णय नगर्ने बताउनुभएको हो ।

पार्टीको केन्द्रीय समिति बैठकमा केही टोलीका नेताहरुले यसको विषयमा प्रष्ट नबुझेकाले अध्ययन गरेर थप प्रष्ट पार्ने अधिकारदिएर कार्यदल गठन गरिएको र कार्यदलले अध्ययन मात्रै गर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले एमसीसी साउन मै संसदमा प्रस्तुत गर्नुको तत्पर्य प्रष्ट नै छ । हामीलाई दिएको विषय पनि त्यही हो । त्यसको बारेमा रहेका अस्पष्टताहरु प्रष्ट पार्न समिति गठन भएको हो । केन्द्रीय समितिमा केही सदस्यहरुले नबुझेको र प्रष्ट पार्न भनेपछि त्यही क्षेत्राधिकार दिएर कार्यदल गठन भएको हो । दोस्रो पटक थपिएको समयभित्रै प्रतिवेदन बुझाउँछौँ ।’

नेकपाको केन्द्रीय समिति बैठकले ज्ञवाली सहित झलनाथ खनाल, भीम रावल गरी तीन सदस्यीय कार्यदल गठन गरेको थियो । अहिले कार्यदलले अध्ययन गरिरहेको छ ।

बंगलादेश भ्रमणका क्रममा त्यहाँका विदेशमन्त्री डा. एके अब्दुल मोमेनसँग दुई देशको सम्बन्ध प्रगाढ बनाउने विषयमा छलफल भएको बताउनुभयो । दुई देशको हितमा हुनेगरी राजनीतिक सम्बन्ध सुदृढ गर्दै आर्थिक सम्बन्ध अझ गहिरो र फलदायी बनाउँदै जैलाने विषयमा कुराकानी भएको उहाँले बताउनुभयो ।

त्यसैगरी जलविद्युत लगायत उर्जाका स्रोतहरुको विकास एवं व्यापार गर्ने विषयमा पनि सहमति भएको छ । बंगलादेशका वाणिज्यमन्त्री टिपु मन्सुलीसँग भएको भेटमा दुई देशको सम्पर्क सञ्जाललाई विस्तार गर्नका लागि दुवै देशका नजिक रहेका सहरहरुबीच सिधा हवाई उडानको व्यवस्था गर्ने, सडक मार्गको सुधार तथा स्तरोन्नति गर्ने, रेलमार्गको सञ्जाल विस्तार गरी दुई मुलुकलाई जोड्ने नेपालका नदीहरु भारत र बंगलादेशका नदीहरुमा जोड्ने र जलमार्गको विकास गर्ने समझादारी भएको छ ।

उहाँले चीनमा कोरोना भाइरस विरुद्ध सफलता प्राप्त गर्दै गएको बताउनुभएको छ । चीनले कोरोना नियन्त्रणका लागि गरिरहेको कामलाई नेपालले ऐक्यबद्धता जनाएको बताउनुभयो । उहाँले चीनमा देखिएको कोरोनाका कारण सगरमाथा सम्वादलाई कुनै असर नगर्ने बताउनुभयो ।

मन्त्री ज्ञवालीले भारतसँगको सीमा विवाद समाधान गर्न वार्ताको वातावारण बनिरहेको र दुबै देशको समयअनुकूल मिति तय गरी वार्ता हुने बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया