छायाँ सरकारकाे पहिलाे बैठक : बाँस्काेटाकाे अडियाे प्रकरणमाथि छलफल

 फागुन ११, २०७६ आइतबार १४:२४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छायाँ मन्त्रिमण्डलको पहिलो बैठक बसेको छ । गएकाे जेठमा गठन भएको मन्त्रिमण्डलको बैठक आइतबार बसेको हो ।

वर्तमान घटनाक्रम र भइरहेका प्रगतिका विषयमा समीक्षा गर्न बैठक बसेको नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बताउनुभयो ।

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा मात्रै नभएर अन्य मन्त्रालयमा नीतिगत भ्रष्टाचारहरु भएका कुराहरु बाहिर आएकाले अन्य मन्त्रालयहरुको पनि अध्ययन गर्न सम्बन्धित मन्त्रालय हेर्ने छायाँ मन्त्रीहरुलाई निर्देशन दिइएको उहाँले बताउनुभयो ।

‘जसले जुन मन्त्रालय हेर्नुभएको छ, त्यससम्बन्धी अध्ययन गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ’, उहाँले भन्नुभयो । मन्त्रालयहरुमा हुने नीतिगत भ्रष्टाचारका विषयमा प्रधानमन्त्री समेत जानकारी रहेको विषयमा भिन्न रुपमा छानबिन गर्ने पनि निर्णय भएको उहाँले बताउनुभयो ।

पाण्डेले संसदमा भएका अन्य दलहरुसँग १३ गते बस्ने संसद बैठकलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुने बताउनुभयो । बाँस्कोटा प्रकरण र अन्य भ्रष्टाचारका विषयहरुलाई सरकार बाहिर रहेका दलहरुले सामूहिक रुपमा अगाडि बढाउने विषयमा छलफल गर्न सोमबार बैठक डाकिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यक्षता गर्नुभएको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा समीक्षागत छलफल भएको थियाे । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया