प्रधानमन्त्रीसहित चार जनाविरुद्ध अख्तियारमा उजुरी: अख्तियारद्वारा छानबिन सुरु

 फागुन ११, २०७६ आइतबार २०:६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटासहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 

प्रधानमन्त्री ओली र बाँस्कोटासहित तत्कालीन सञ्चार सचिव महेन्द्रमान गुरुङ र सेक्युरिटी प्रेसका कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अख्तियारमा उजुरी परेको हो । 

सेक्युरिटी प्रेस खरिद प्रक्रियामा भएको अनियमिततामा संलग्न भएको भन्दै बाँकेको नेपालगन्जका प्रेमबहादुर शाही र मकवानपुरको हेटौंडाका आनन्दराम पौडेलले अख्तियारमा उजुरी दिनुभएको हो । 

तत्कालीन सञ्चारमन्त्री बाँस्कोटाविरुद्ध सुनसरीका प्रीतम सुवेदी र दोलखाका विजयबाबु शिवाकोटीले पनि उजुरी दिनुभएको छ। प्राप्त उजुरीको आधारमा अख्यिारले छानबिन सुरु गरिसकेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले उज्यालोलाई जानकारी दिनुभयो। अडियो सार्वजनिक भएपछि बाँस्कोटाले गएको बिहीबार मन्त्री पदबाट राजीनामा दिनुभएको छ । 

ऐनमा भएको व्यवस्थाअनुसार भ्रष्टाचारको कसुरमा छानबिन गर्ने प्रष्ट आधार देखिने भएकोले आवश्यक छानबिन गरी हदैसम्मको कारबाही गर्न उजुरीमा माग गरिएको छ । 

डेढ महिना पहिले नै अडियो सुनिसकेको दाबी गरिएको उजुरीमा प्रमाण लुकाएर प्रधानमन्त्री ओलीले भ्रष्टाचार उद्योगमा संलग्न रहेको पुष्टि भएको उजुरीकर्ताले दावी गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया