मन्त्रीका सय दिनकाे मुख्य उपलब्धि : साढे ९ हजार खाल्डाखुल्डी पुरियाे

 फागुन १७, २०७६ शनिबार १२:२९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले गएको एक सय दिनमा २ सय किलोमिटर सडक कालोपत्रे गरिएको जानकारी दिनुभएको छ ।

आफूले मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गरी मन्त्री नेम्वाङले सय दिनमा २ सय किलोमिटर सडक कालोपत्रे, एक सय ३० किलोमिटर ग्राभेल र ६९ किलोमिटर नयाँ ट्रयाक खोलिएको बताउनुभयो । उहाँले सय दिनमा ४० वटा पक्की पुलको निर्माण कार्य सम्पन्न गरिएको पनि जानकारी दिनुभयो ।

यस्तै २ किलोमिटर रेलमार्गको ट्रयाक खोलिएको र काठमाण्डौको खाल्डाखुल्डी पुर्नु आफ्नो मुख्य सफलता बताउनुभयो । उहाँले एक सय दिनमा सडक विभागअन्तर्गत रहेका सडकहरुका ९ हजार ५ सय वटा खाल्डाखुल्डी पुरिएको जानकारी गराउनुभयो ।

काठमाडौं उपत्यकाका झण्डै २७ किलोमिटर सडकमा कालोपत्रे गरिएको र आउँदो असारमा सक्नेगरी थप ८५ किलोमिटर सडक कालोपत्रे गर्ने काम पनि भैरहेको मन्त्री नेम्वाङले जानकारी गराउनुभयो ।

कोटेश्वरको जाम घटाउन चार लेन सडक थप गर्नको लागि पर्यटन मन्त्रालयबाट जग्गा प्राप्त भएको, चक्रपथ अन्तर्गत ग्वार्को चोक, सातदोबाटो चोक र नख्खु चोकमा फ्लाइ ओभरको डीपीआर तयार गर्नका लागि परामर्शदाता छनोट कार्य भइरहेको, सूर्यविनायक–धुलिखेल सडकखण्डलाई विस्तार तथा कोटेश्वर जडिबुटी चोकको ट्राफिक जामलाई दीर्घकालीन रुपमा समाधान गर्न फ्लाइओभर र अन्डरपास निर्माणका लागि जापान सरकारसँग समन्वय भइरहेको पनि मन्त्री नेम्वाङले जानकारी गराउनुभएको छ ।

मन्त्री नेम्वाङले राष्ट्रिय गौरवका योजनाको काम प्रभावकारी बनाउन र रुग्ण अबस्थामा रहेका योजनाको काम अघि बढाउन बिशेष पहल गरिरहेको पनि बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया