नेपाल मलेसियासँग २२ रनले पराजित

 फागुन १७, २०७६ शनिबार १५:४६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - एसीसी इस्ट्रर्न रिजन टी २० क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमै पराजित भएको छ । नेपाल शनिबार थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा  मलेसियासँग २२ रनले पराजित भएको हो । 

१५५ रनको लक्ष्य पछ्याएको नेपाल २ बल बाँकी छदै १३२ रनमा रोकिन पुग्यो । पाँच टिम सहभागी यो प्रतियोगिता लिगका आधारमा आयाेजना भएको छ । 

इस्ट्रन रिजनका शीर्ष २ टिमले वेस्टर्न रिजनका शीर्ष २ टिमबीच एसियाकप क्वाली फायरका लागि प्रतिस्पर्धा गर्नेछन् । एसियाकप क्रिकेटका लागि महत्वपूर्ण खुड्किलोको रुपमा रहेको यो प्रतियोगितामा उपाधि जित्ने लक्ष्य नेपालले लिएको भए पनि पहिलो गाँसमै ढुंगा लागेको छ ।

नेपालको शुरुआत भने राम्रो हुन सकेन । कुशल मल्ल र ज्ञानेन्द्र मल्लले ओपनिङ गरेका थिए । तर पहिलो ओभरमै खाता नै नखोली कुशल मल्ल आउट भएका थिए । 

त्यसपछि क्रिजमा आएका पारस खड्का र ज्ञानेन्द्र मल्लले २१ रनको साझेदारी गरे । पारस खड्का ९ रन बनाएर आउट भए । त्यसपछि कप्तान मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीले ६७ रनको साझेदारी गरेका थिए । 

टिमको स्कोर ८९ रन हुँदा कप्तान मल्ल आउट हुन पुगे । उनी ३८ रन बनाएर पभेलियन फर्किएका हुन् । मल्लले ३३ बल फेस गर्दा तीन चौका र एक छक्का प्रहार गरे । चौथो विकेटको रुपमा नेपालले दीपेन्द्रलाई गुमायो । 

दीपेन्द्र पनि व्यक्तिगत ३८ रन बनाएर आउट भएका हुन् । उनले ४० बल सामाना गर्दा एक चौका प्रहार गरे । पाँचौं विकेटको रुपमा पवन शर्राफ आउट हुन पुगे । १४ बलमा १९ रन बनाएका पवनले एक छक्का र एक चौका प्रहार गरेका थिए । 

छैटौं विकेटको रुपमा आरिफ शेख १२४ को स्कोरहुँदा आउट भए पछि नेपाल दबाबमा आएको थियो । आरिफ व्यक्तिगत ५ रनमा पभेलियन फर्किएका हुन् । १८।२ ओभरमा १२९ रन हुँदा करण केसी सातौं विकेटको रुपमा आउट भए । 

करण २ रनमा आउट भएका हुन् । आठौं विकेटको रुपमा विनोद भण्डारी १९।२ ओभरमा नेपालको स्कोर १३२ रन हुँदा आउट भए । उनी ७ रनमा आउट भए । त्यसपछि सन्दीप नवौं विकेटको रुपमा १ रन बनाएर आउट भए ।

 लगत्तै सुशन भारी पनि आउट भएपछि नेपाली टिम १ बल बाँकी छदै १३२ रनमा रोकिन पुग्यो । मलेसियाका श्रविन मुनिडीले ४ विकेट लिँदा पवनदीप जगजित सिंह, सेदरुल इद्रिस, खैजर हायातले दुई दुई विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएकाे थियाे।

नेपालका लागि सन्दीप लामिछानेले तीन तथा अविनाश बोहोराले २ तथा करण केसीले एक विकेट लिए । मलेसियाका सैयद अजिज मुवारकले नट आउट ५१ रन बनाउँदा मोहम्मद अनवर अरुद्दिनले ३१ रन जोड्दा जोडे । यसैगरी अहमद फैज ३० तथा अमिनुद्दिन रमलीले २९ रन बनाए ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया