उमेर नपुग्दै गरेको बिहे बदर भएपछि ...

 फागुन १८, २०७६ आइतबार १६:०:२१ | इन्द्रसरा खड्का

उमेर २० वर्ष । गहुँगोरो वर्ण । दैलेख आठबिस नगरपालिका ५ सल्लाकाट्याकी चन्द्रा विश्वकर्मालाई कुन उमेरमा विवाह गर्दा उपयुक्त हुन्छ भन्ने थाहा थिएन । गाउँमा २० वर्ष नपुग्दै बिहे गर्ने चलन छ । 

सल्लाकाट्याका प्रायःजसो किशोरकिशोरी एकअर्काको मन मिल्नेबित्तिकै भागेर बिहे गर्छन् । किशोरकिशोरीको यो निर्णयलाई अभिभावकले पनि सहजै स्वीकार्छन् । तर तीन वर्षअघि चन्द्राले गरेको निर्णयमा भने गाउँलेहरुले नै प्रश्न गरे । 

उनलाई केटासँग भागेर गएको पछिल्लो दिनमै माइती फर्काइयो । उमेर नपुगेरै केटासँग भागेको भन्दै गाउँका किशोरी महिलाहरुले छोरी फर्काउन दबाब दिएपछि चन्द्रालाई माइत फर्काइएको हो । अहिले उनी माइतमै बसेर स्कुल पढ्छिन् । 

उमेर नपुग्दै बिहे गर्न हुँदैन, गरेमा कानुनी कारबाही हुन्छ भन्ने थाहा नपाएकी चन्द्राले बिहेपछि फर्केर माइती आउनुपर्छ भन्ने कल्पना नै गरेकी थिइनन् । अहिले यही कुराको पछुतो लाग्छ । 

तर्क बिकसँगको भेट 

सिहांसैनका तर्क बिक सल्लाकाट्या आइरहन्थे । त्यसै क्रममा चन्द्रा र तर्कको चिनजान भयो । सुरुमा चिनजान भएका चन्द्रा र तर्कको बोलचाल सुरु भयो । बिस्तारै फोनमा कुरा हुन थाल्यो । एक अर्काले नम्बर साटासाट गरे । 

चिनजान हुँदा चन्द्रा कक्षा ६ मा र तर्क कक्षा ८ कक्षामा पढ्थे । कहिलेकाहीँको भेटघाट र दिनहुँ फोनमा हुने कुराकानीसँगै चन्द्रा र तर्क नजिकिए । उनीहरुले एकअर्कालाई मन पराउन थाले ।

कुराकानी र चिनजान भएको एक वर्षपछि तर्कले चन्द्रालाई बिहेको प्रस्ताव राखे । चन्द्रालाई पनि तर्क मन पथ्र्यो । चन्द्राले तर्कको प्रस्ताव सहजै स्वीकारिन् । उनीहरुले २०७४ साल वैशाख ९ गते भागेर बिहे गर्ने निर्णय गरे ।

भागेर बिहे  

चन्द्रा र तर्कले एक अर्कालाई मन पराउने कुरा चन्द्राको घरमा कसैलाई थाहा थिएन ।  चन्द्राले १८ वर्षमै एक्लै बिहे गर्ने निर्णय गरिन् । चन्द्राको परिवारलाई थाहा नभए पनि  छोराले बुहारी भगाएर ल्याउँछ भन्ने कुरा तर्कको परिवारलाई भने थाहा थियो । 

वैशाख ९ गते दिनभर चन्द्रा दिउँसो बाख्रा चराउन गइकी थिइन् । तर्क अरुले नदेख्ने गरी जंगल गए । दुवै जनाको जंगलमा भेट भयो । दिनभरी दुवैजना सँगै बसे । साँझ ४ बजेतिर चन्द्रा बाख्रा ल्याएर घर फर्किन् ।

तर्क भने जंगलमै बसे । चन्द्राले आफ्नो लुगा पोको पारिन् । कसैले नदेख्ने गरेर घरको अर्को कोठामा राखिन् । घरका सबै सुतेको मौका छोपेर चन्द्रा तर्कसँग भागिन् ।

फर्काएर ल्याउँदा

चन्द्रा तर्कसँग भागेर गएको कुरा पछिल्लो दिन मात्रै थाहा भयो । चन्द्रा कता गइन भने खोजी गर्दा चन्द्राकै साथीले भागेर गएको सुनाएपछि गाउँभरी हल्ला भयो । चन्द्राकी आमा गौरा सल्लाकाट्या सामुदायिक छलफलमा जाने गर्नुहुन्थ्यो ।  छलफल केन्द्रमा सहभागी किशोरी महिलाले चन्द्राको उमेर सोधे । चन्दको उमेर १८ वर्ष रहेको थाहा भयो । 

उमेर नै नपुगेर भागी बिहे गरेको भन्दै छलफल केन्द्रका सहभागीले छोरी फिर्ता ल्याउन गौरा र श्रीमान लालबहादुरलाई भने । २० वर्षभन्दा कम उमेरमा बिहे गर्न र गराउन कानुनले दिंदैन भन्दै बुझेपछि उहाँहरु छोरीलाई घर फर्काउन लाग्नुभयो ।

कानुनअनुसार चल्न तर्कको परिवार पनि राजी भयो । भागेर गएको भोलिपल्टै चन्द्रा माइती फर्कनु प¥यो ।

अब वैशाखमा बिहे गर्ने तयारी

चन्द्रा र तर्क छुटिएर बसेको तीन वर्ष पुग्न लाग्यो । अहिले दुवैको उमेर २० वर्षभन्दा बढी भयो । उमेर नपुगेकै कारण छुट्टाछुटट्ै बसेका चन्द्रा र तर्क आउँदो वैशाखमा बिहे गर्ने भएका छन् ।

यसैका लागि तर्क पैसा कमाउन भारत पुगेका छन् । उनीहरुको बिहे अब परिवारले नै गराइदिने भएको छ । वैशाखमा बिहे गराइदिन चन्द्राका आमाबुवा समेत तयार भएका छन् ।

पहिले केही नबुझेर बिहे गरेकी चन्द्राले अब धेरै कुरा थाहा पाएकी छिन् । बालविवाहले कस्तो असर गर्छ, बालविवाह गर्न किन हुँदैन भन्ने पनि बुझेकी छिन् ।

आमा गौराले पनि धेरै कुरा बुझ्नुभएको छ । ‘एक न एक दिन छोरीले पराइ घर जानैपर्छ ढिलोचाँडो मात्र हो । दुई वर्ष माइतमै बसिन् । अब तर्कसँगै टिकाटालो गरेर पठाइदिन्छु’ गौराले भन्नुभयो,

भागी बिहे बढ्दै

दैलेखमा मागीभन्दा भागी बिहे गर्ने चलन बढ्दो छ । भागी बिहेकै कारण बालविवाह बढेको सरोकारवालाहरु बताउँछन् । पहिले अभिभावकहरुले नै बिहे गराइदिने चलन थियो भने, अहिले केटाकेटी आफै बिहे गर्ने गरेको आठबिस नगरपालिकाका उपप्रमुख दीपा बोहरा बताउनुहुन्छ ।

केटाकेटीहरु फोन, फेसबुकमा कुरा गर्ने र अन्त्यमा भागेर जाने प्रचलनले बालविवाह नियन्त्रण गर्न चुनौती भएको उहाँको भनाई छ । जिल्ला प्रहरी कार्यलय दैलेखका प्रहरी नायब उपरीक्षक, डीएसपी हरिबहादुर वलीका अनुसार जिल्ला प्रहरी कार्यालयमा बालविवाह सम्बन्धी दुईवटा उजुरी परेका छन् ।

ती उजुरीका विषयमा अहिले अनुसन्धान भइरहेको छ । बालविवाह पहिलेकोभन्दा कम भए पनि भागी बिहेले समस्या भएको डीएसपी वलीले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ४, २०८०

इन्द्रसरा खड्का

इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया