‘हामी बाँचे मात्रै पर्यटक आउलान्, अहिले पर्यटकलाई स्वागत नगराैँ’

 फागुन १९, २०७६ सोमबार १३:२७:१३ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरस अर्थात् कोभिड–१९ का कारण अहिले विश्वभरको जनजीवन प्रभावित भएको छ । यसबाट तीन हजार जनाको ज्यान गइसकेको छ, ८७ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् ।

कोरोना भाइरसको सङ्क्रमण ६० भन्दा बढी देशमा फैलिसकेको छ । विश्वका धेरै देशले अहिले कोरोनाबाट बच्न पर्यटकीय गतिविधि बन्द गर्नेदेखि हवाइ सम्पर्क विच्छेद गर्नेसम्मका काम गरिरहेका छन् ।

नेपालले भने भ्रमण वर्ष २०२० सफल बनाउन भन्दै कोरोना प्रभावित देशबाट आउने पर्यटकलाई समेत कुनै रोकावट प्रवेश दिइरहेको छ । सरकारले कोरोना प्रभावित देशका पर्यटकलाई स्वास्थ्य जाँचबिना नै खुरुखुरु नेपाल आउन दिएकोले देशमा सङ्क्रमणको उच्च जोखिम रहेको सरोकारवाला बताउँछन् ।

विश्व स्वास्थ्य सङ्गठनले पनि नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेको छ । यस्तो अवस्थामा सरकारले भ्रमण वर्ष सफल बनाउने नाममा पर्यटक भित्र्याउन जोड दिन नहुने बरु कोरोना रोकथामको तयारी गर्नुपर्ने आवाज उठेको छ ।

सर्वसाधारण र सरोकारवालाले कोरोना प्रभावित देशका पर्यटकको नेपाल आगमनलाई केही समयका लागि स्थगित गरेर कोरोना भाइरसको सङ्क्रमण देशभित्र फैलिन नदिन सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् । 

सर्वसाधारण भन्छन् : पर्यटन मन्त्रीलाई नै कोरोना लागेमा के गर्ने ?

सर्वसाधारणले सरकारले तत्कालै औपचारिक रुपमा नेपाल भ्रमण वर्ष स्थगित गरेर कोरोनाको रोकथाममा लाग्नुपर्ने बताएका छन् । नेपालमा उपचारको लागि कुनै व्यवस्था नभएकोले कोराना भित्रिन नदिन सरकारले विशेष सतर्कता अपनाउनुपर्ने र पर्यटनसँग सम्बन्धित गतिविधि रोक्नुपर्ने सर्वसाधारणको भनाइ छ । 

काठमाण्डौको गोल्फुटारका कृष्ण न्यौपाने भन्नुहुन्छ, ‘चीन र अमेरिकाले त रोग नियन्त्रण गर्न सकेका छैनन् । हामीकहाँ आइपुग्यो भने के हालत हुन्छ, त्यसको अनुमान पनि गर्न सकिन्न । अहिले नै मास्क पाउन गाह्रो छ । अब सिटामोल पनि अभाव हुन सक्छ । त्यसैले पर्यटकीय गतिविधि रोक्नुपर्छ ।’

उहाँले थप्नुभयो, ‘यस्तो बेलामा पनि पर्यटक ल्याउनुपर्छ भन्दै हुनुहुन्छ । यदि मन्त्रीलाई नै कोरोनाको सङ्क्रमण लाग्यो भने के गर्ने ! यसको उपचार त सिङ्गापुर गएर पनि हुनेवाला छैन ।’

बानेश्वर बस्ने निशा अधिकारी पनि भ्रमण वर्ष औपचारिक रुपमै स्थगित गर्नुपर्ने बताउनुहुन्छ । ‘नागरिकको स्वास्थ्य नै सबैभन्दा ठूलो कुरा हो । पहिले नागरिक बाँचे भने मात्र पछि पर्यटक आउन सक्छन् । त्यसैले पर्यटकसँगै कोरोना आउन नदिन भ्रमण वर्ष नै रोक्नुपर्छ र कोरोना लागेका देशबाट पर्यटक आउन दिनु हुन्न ।’

यस्तै मनमैजु बस्ने दिवस भट्ट पनि भ्रमण वर्ष स्थगित गर्न माग गर्नुहुन्छ ।

कोरोनामुक्त देश भन्नु मुर्खता हो : प्रचण्डमान श्रेष्ठ 

पर्यटन विज्ञ तथा नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठ सरकारले नेपाल भ्रमण वर्ष तत्कालै स्थगित गर्नुपर्ने बताउनुहुन्छ । विश्व नै कोरोनाको त्रासमा बाँचिरहेको बेला नेपाल कोरोनामुक्त देश हो भनेर पर्यटक तान्ने प्रयास गर्नु मुर्खता भएको उहाँको भनाइ छ । 

‘कोरोनासँग जुध्न विश्वका ठूला र विकसित देशले नै ठूलो सङ्घर्ष गरिरहेका छन् । हामीले खेलाँची गरिरहेका छौँ जस्तो देखिन्छ । यस्तो अवस्थामा भ्रमण वर्ष भन्दै पर्यटक बोलाउन उचित हुँदैन, प्रभावित देशका पर्यटकलाई अहिले भित्र्याउन हुँदैन,’ श्रेष्ठले भन्नुभयो । कोरोनाको सङ्क्रमण कम भएपछि फेरि भ्रमण वर्ष मनाउन सकिने उहाँको भनाइ छ । 

‘यो बेला विपत् व्यवस्थापन समूह बनाएर घण्टा घण्टामा अपडेट गर्नुपर्छ । कोरोनाबाट बच्न देशबासीलाई सजग बनाउनुपर्छ र कोरोनाको सङ्क्रमण फैलिहाले कसरी ‘ह्याण्डल’ गर्ने भनेर सरकार पूर्ण तयारीमा बस्नुपर्छ । हामी बाँचे बल्ल पर्यटक आउलान्,’ प्रचण्डमान श्रेष्ठले उज्यालो अनलाइनसँग भन्नुभयो ।   

श्रेष्ठका सुझाव यस्ता छन् :

- भ्रमण वर्ष औपचारिक रुपमै स्थगित गरौँ, अवस्था सहज भएपछि फेरि सुरु गर्छौ भनौँ ।

- विपत् व्यवस्थापन समिति एकदमै चुस्त बनाऔँ, जसले देश विदेशमा के भइरहेको छ, के गर्नुपर्छ, कुन देशका पर्यटक आउन दिने/नदिने भनेर हरेक घण्टाका सूचना प्रवाह गर्न सकोस् ।

- कोरोनाबाट अति प्रभावित देशका पर्यटक आवागमन रोकौँ तर त्यहाँका पर्यटन व्यवसायीको सम्पर्कमै रहौँ । 

- पर्यटन बोर्डले विदेशमा हुने प्रचारप्रसार रोके पनि त्यहाँका व्यवसायीहरुसँगको सम्पर्क जारी राख्नुपर्छ । 

- होटल, ट्रेकिङ र एअरलाइन्सलगायतका नीजि क्षेत्रलाई सरकारले ढाडस दिने, कोरोनाको प्रकोप कम भएपछि केही सहुलियत या अनुदान दिने भन्नुपर्छ ।

- निजी क्षेत्रले अहिले घाटा भयो भनेर आत्तिनु हुँदैन, अवस्था सहज बनेपछि आक्रामक व्यापारको योजना बनाउने । 

विश्व नै अस्तव्यस्त भइरहेको बेला भ्रमण वर्ष स्थगित गर्नु नै उत्तम : सुनिल शाक्य 

कोरोना भाइरसको कारण विश्व नै त्रसित र अस्तव्यस्त भइरहेको बेला नेपालले भ्रमण वर्ष अर्को मितिको लागि सार्न उचित हुने प्यासिफिक एसिया ट्राभल एसोसिएशन (पाटा) को नेपाल च्याप्टरका पूर्व अध्यक्ष सुनिल शाक्य बताउनुहुन्छ । 

‘अहिलेको लागि भ्रमण वर्ष स्थगित गर्ने र कोरोनाको प्रकोप समाप्त भएपछि फेरि सुरु गर्नु नै उपयुक्त देखिन्छ । नेपालमा कोरोना भित्रिएमा यसले ठूलो रुप लिन सक्छ । सरकारको क्षमताले नधान्न पनि सक्छ । त्यसैले अहिले भ्रमण वर्ष स्थगित गर्नु नै उपयुक्त हुन्छ भन्ने लाग्छ’, शाक्यले भन्नुभयो ।

यो पटक भ्रमण वर्षको औचित्य सकियो : अर्थविद् आचार्य 

अर्थविद् केशव आचार्य कोरोना भाइरसको कारण भ्रमण वर्षको औचित्य सकिएको बताउनुहुन्छ । सरकारले विदेशमा हुने भ्रमण वर्षका गतिविधि रोक्नु सकारात्मक भएको र अब भ्रमण वर्ष नै स्थगित गर्नुपर्ने अर्थविद् आचार्यको भनाइ छ । 

‘साउदी अरबले मक्का मदिनामा जान रोक लगाइसक्यो । विश्वका धेरै देश धेरै सचेत छन् । हामीले पनि पर्यटक भित्र्याउने विषयमा एक पटक सोच्नैपर्छ’, अर्थविद् आचार्यले भन्नुभयो । यसको उपचार र रोकथाममा आफूसँग पर्याप्त स्रोतसाधन नभए सरकारले विश्व स्वास्थ्य सङ्गठनको सहयोग लिनुपर्ने आचार्यको भनाइ छ । 

हरेक क्षेत्रमा सरकारको खेलाँची 

अहिलेसम्म कोरोनाको कुनै औषधि पत्ता लागेको छैन । चीन, अमेरिका, बेलायत, जापान कोरियालगायतका विकसित देशसमेत यसबाट हैरान भएका छन् । धेरै देशले कोरोना प्रभावित क्षेत्रबाट हवाई सम्पर्क विच्छेद गरेका छन् ।

विश्वभरिको अर्थतन्त्र डामाडोल भएको छ । व्यापार र पर्यटनलाई भन्दा आफ्ना नागरिकको ज्यान जोगाउनु सबभन्दा महत्वपूर्ण रहेको भन्दै धेरै देशहरु कोरोनाको रोकथाममा जुटेका छन् । तर नेपालमा भने सरकारले अहिलेसम्म कुनै पूर्वतयारी गरेको छैन । 

कोरोना प्रभावित चीन, कोरिया र जापानलगायतका देशबाट पर्यटक निर्वाध आइरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बल्ल आइतबारदेखि अलिअलि जाँच सुरु भएको छ । कसैलाई शङ्का लागेमा सरकारसँग प्रयाप्त अस्पताल, आइसोलेशन वार्ड र चिकित्सक छैनन् ।  

‘के गर्ने भन्ने विषयमा सबै अन्योलमा नै देखिन्छन् । नेपालमा कोरोना भाइरसको सङ्क्रमण फैलियो भने तपाईँ/हामीले नसोचेको अवस्था आउन सक्छ । किनभने हाम्रो तयारी लगभग शून्य छ’, स्वास्थ्य मन्त्रालयका एक अधिकारीले उज्यालोसँग भने । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया