नेपाल आउने पर्यटकले कोरोना नभएको पुष्टि गर्नुपर्ने, नेपालीलाई सकभर विदेश नजान अनुरोध

 फागुन १९, २०७६ सोमबार १७:१३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले अत्यावश्यक कामबाहेक देश नछाड्न नागरिकलाई आग्रह गरेको छ । कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमणले विश्वभरि नै प्रभाव पारेकोले अत्यावश्यक कामबाहेक देश नछाड्न विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको थियो ।

विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई कोरोनाको उच्च जोखिममा राखेकोले पढ्न, घुम्न, वैदेशिक रोजगारी लगायतका प्रयोजनको लागि विदेश नजान सरकारले आग्रह गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले  जानकारी दिनुभयो । 

सरकारले गर्ने सबै अन्तर्राष्ट्रिय सभा सम्मेलन स्थगित गर्ने र गैरसरकारी संस्था र नीजिलाई पनि सभा सम्मेलन नगर्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयमा भएको कार्यक्रममा मन्त्री ज्ञवालीले नागरिकको स्वास्थ्यभन्दा ठूलो विषय अरु हुन नसक्ने ठहर गर्दै सरकारले पर्यटनका गतिविधि स्थगित गरेको पनि जानकारी दिनुभयो । 

विदेशमा रहेका कुटनीतिक निकायलाई चनाखो रहन निर्देशन

सरकारले विदेशमा रहेका सबै कुटनीतिक नियोग र मिसनलाई चनाखो रहन निर्देशन दिएको छ । दूतावास, यूएन मिसन र कन्सुलर कार्यालयलाई कोरोनाको बारेमा सचेत रहन, नेपालीको बारेमा जानकारी लिन, नेपालीलाई समस्या पर्न नदिन र समस्या परेमा सम्बन्धित देशका स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्न निर्देशन दिएको परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । 

‘इर्मेजेन्सी पर्दा उद्धारको लागि र समस्या पर्दा सहयोगको लागि हामीले सबैलाई आग्रह गरेका छौँ, पूर्ण तयारी अवस्थामा बस्न भनेका छौँ, राजदूत नभएका देशमा मिसन र अन्य टिम छन्, त्यसैले सकभर समस्या हुन नदिन भनेका छौँ’, ज्ञवालीले भन्नुभयो । 

त्रिभुवन विमानस्थलमा पर्यटकले 'हेल्थ कार्ड' देखाउनुपर्ने

सरकारले आउँदाे मार्च १० तारिखदेखि लागू हुने गरी कोरोना अति प्रभावित देशबाट आउने पर्यटकलाई 'अन अराइभल भिसा' नदिने निर्णय गरेको छ । आइतबारको मन्त्रिपरिषद्को निर्णयले अति प्रभावित देशबाट आउनेहरुलाई विमानस्थलमा नै दिइने अन अराइभल भिसा रोक्ने निर्णय गरेको छ ।

यस्तै १० मार्चदेखि नेपाल आउने पर्यटकले त्रिभुवन विमानस्थलमा हेल्थ कार्ड देखाउनैपर्ने भएको छ । 

‘मार्च १० तारिखदेखि नेपाल आउनेले आफूलाई कोरोना नलागेको पुष्टि हुने गरी हेल्थ कार्ड देखाउनुपर्नेछ, हेल्थ कार्ड नभएकाहरुलाई प्रवेश नदिने निर्णय भएको छ’, मन्त्री ज्ञवालीले भन्नुभयो ।   

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया