अहिलेको वर्षा बालीलाई अमृतसरह

 फागुन २१, २०७६ बुधबार १३:३०:५७ | डा. हरिकृष्ण उप्रेती
unn.prixa.net

साधारणतया हिउँदको समयमा कम पानी पर्छ । यो बेला लामो समयसम्म पानी नपर्ने हुँदा सबैतिर सुख्खा हुन्छ । हरेक वर्ष हिउँदको समयमा बालीलाई सिँचाइ कसरी गर्ने भन्ने किसानलाई चिन्ता हुन्छ । तर यसपालिको मौसम किसानको लागि असल मित्रजस्तै बनिदिएको छ ।  सिँचाइ दिन पर्ने बेलामा मौसमले साथ दिँदा बालीनालीलाई फाइदा पुगेको छ । 

भर्खरै सिँचाइ गरेका गहुँबाली वा मुसुरोका दालमा भने अहिलेको पानीले असर पनि गर्न सक्छ । तर यसलाई जोगाउन पानी जम्ने खालका चिम्टाइलो माटो भएको खेतबारी छ भने निकास दिनुपर्छ । आली काटेर वा नाला काटेर तुरुन्तै पानीको निकासा दिन सकिन्छ । यी दुई बाहेकका बालीलाई भने अहिलेको पानी अमृतसरह हो ।

खेतीपाती गर्ने र व्यवसायिक फलफूल, तरकारी खेती गर्नेले यतिबेला परेको पानीको फाइदा  लिन सक्छन् । यतिबेला आँप, आरु र आलुबखडालगायत सबैजसो फलफूलको फूल फूल्ने सम्भावना भएकाले यो सिँचाइ गर्नु पर्ने समय हो । यस्तो समयमा वर्षा भएकाले अब सिँचाइ गर्नुपर्दैन । तर पानी परेर जमिन चिसो भएकाले मल राख्न सकिन्छ । 

हिउँद लागेपछि हरेक महिनाजसो पानी परेकाले यसले उत्पादन समेत बढाउन सक्ने सम्भावना छ । सिँचाइको सुविधा नभएका ठाउँमा पनि आकाशे पानीले जमिन भिजेकाले अब खनजोत गरी बीउँ राख्न र लहरे तरकारीका लागि बिरुवा उमार्न सकिन्छ । 

काँक्रो, फर्सी, चिचिण्डा र करेलालगायत लहरे तरकारीको बीउँ उमार्ने बेला भएको छ । यस्ता तरकारीलाई सिधै खेतबारीमा बीउँ रोप्नुभन्दा प्लाष्टिकको गुमोज बनाएर वा साना साना प्लाष्टिकका थैलामा माटो राखेर बीउ उमार्न सकिन्छ । यसरी उमारेको बिरुवा लगाए छिट्टै हुर्कन्छ ।

यस्तै, अहिलेको वर्षाले चैते धानलाई पनि फाइदा पु¥याएको छ । यो चैते धानको दाना लाग्ने बेला भएकोले यतिबेलाको वर्षाले दाना पुष्ट गराउन सहयोग गर्छ । यस्तै, अब मकै बाली लगाउने बेला भएको छ । तर बाली लगाउनुअघि किसानले बीउँ छनौटमा ध्यान दिनुपर्छ । 

सरकारले सिफारिस गरेका र दर्ता भएका जातका बीउ मात्र किसानले लगाउनुपर्छ । यस्तै, यस्ता बीउँ खरिद गर्दा बिल अनिवार्य लिनुपर्छ । सरकारले नै सिफारिस गरेको र दर्ता भएको बीउँमा पछि केही समस्या देखिए किसानलाई राहत लिन बिलले प्रमाणको काम गर्छ । 

किसान आफैँ पनि सचेत नहुँदा बालीनालीमा नोक्सानी पुग्ने गरेको छ । हाइब्रिड जातका बीउँ छनौट गर्दा दर्ता भएको बीउँ मात्रै छनोट गर्नुपर्छ । अहिले बारा, पर्सा र रौतहटलगायतका तराईका जिल्लामा धान र मकैमा देखिएको समस्या पनि यस्तै हो । 

सरकारले दर्ता नै नगरेको बीउँ लगाइएकोले किसान समस्यामा परेका हुन् । व्यापारीले उही  जातको तर फरक प्रजातिका बीउँ बेच्ने गरेकाले यस विषयमा किसान चनाखो हुनुपर्छ  । यस्तै, घरमा नै बीउँ तयार पार्ने हो भने पनि सचेतना अपनाउनु पर्छ । मकैको बीउँ छान्दा टुप्पो र फेदपट्टीको दानाभन्दा बीचमा रहेका दानालाई बीउँका लागि छनौट गर्नुपर्छ । 

धानको बीउ पनि छाँटेर नुन पानीको घोलमा डुबाउने । अनि केही बेरपछि नुनपानीमा तैरिएको धानलाई छुट्टाएर मुनि रहेका धानलाई बीउँको रुपमा राख्नुपर्छ । यसरी बीउँ छनोट गर्दा पुष्ट  दाना पर्छ । तर यसरी भिजाइएको धानको बीउँलाई घाममा भने सुकाउन हुँदैन । 

यस्तै, हिउँदे मकै लगाउँदा कार्तिक १५ गतेभन्दा अगाडि बीउ छर्नु हुँदैन । त्यसभन्दा अगाडि बीउ छरेका मकैमा दाना नलाग्ने सम्भावना धेरै हुन्छ । यस्तो बेला छरेका मकै पुस माघको शितलहरमा पर्न सक्ने हुन्छ । 

चिसोका कारण निष्क्रिय हुने हुँदा गर्भाधान हुन पाउँदैन र यसले गर्दा दाना लाग्न पाउँदैन । कार्तिक १५ गतेभन्दा पछि रोपेका मकैमा भने समस्या पर्न सक्ने जोखिम कम हुन्छ । 

(नेपाल कृषि अनुसन्धान परिषद्का बाली तथा बागवानी निर्देशक एंव वरिष्ठ कृषि वैज्ञानिक उपे्रतीसँग उज्यालो सहकर्मी दीपा तिमल्सिनाले गर्नुभएको कुराकानीमा आधारित)

अन्तिम अपडेट: बैशाख ५, २०८१

डा. हरिकृष्ण उप्रेती

उप्रेती नेपाल कृषि अनुसन्धान परिषद्का बाली तथा बागवानी निर्देशक एंव वरिष्ठ कृषि वैज्ञानिक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया