सरकारले औषधी निर्यात नरोक्न भारतलाई आग्रह गर्ने

सीमा नाकाहरुमा कडाइ गरिने

 फागुन २२, २०७६ बिहीबार १६:३४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले भारतलाई औषधी निर्यात नरोक्न आग्रह गर्ने भएको छ । कोरोना भाइरसका कारण २६ प्रकारका औषधी  कच्चा पदार्थ निर्यात रोक्का गर्ने भारतको निर्णयले नेपालमा औषधी अभाव हुनसक्ने भन्दै सरकारले औषधी निर्यात फुकुवा गर्न अनुरोध गर्ने भएको हो ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा अर्थमन्त्री तथा सञ्चार तथा सूचनाप्रविधिमन्त्री युवराज खतिवडाले भारतलाई औषधी नरोक्न आग्रह गर्ने बताउनुभयो । अर्थमन्त्री खतिवडाले भारतले निर्यात रोक लगाएका केहि औषधी नेपालसँग स्टक रहेको तर केहिको अभाव हुन सक्ने भएकोले अनुरोध गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले औषधि अभाव हुन नदिन मन्त्रालयले औषधी व्यवस्था विभाग र औषधि उत्पादक कम्पनीसँग छलफल गरिरहेको जानकारी दिनुभयो ।

बिहीबारै बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले पनि औषधी नरोक्न भारतलाइ अनुरोध गर्ने निर्णय गरेको थियो । समितिले भारतसँगका ६ वटा  नाकामा सम्पूर्ण सुरक्षा र क्वारेन्टाइनको व्यवस्था गर्ने र सबै ३७ वटा नाकाहरूमा स्वास्थ्यकर्मीको टोली खटाउने निर्णय गरेको छ । सरकारले औषधीजन्य र अन्य वस्तुको कालोबजारी नगर्न आग्रह गरेको र अनुगमन तिव्र बनाउने पनि निर्णय गरेको छ । 

सीमा नाकाहरुमा कडाई गरिने

यसैबीच सरकारले नोवेल कोरोना भाइरस सङ्क्रमणकाे रोकथाम र नियन्त्रणका लागि सीमा नाकाहरुमा कडाई गर्ने भएको छ । काेराेना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिकाे रक्षा मन्त्रालयमा बसेको बैठकले सीमा नाकाहरुमा कडाई गर्ने निर्णय गरेकाे हाे । 

समितिले नाकामा क्वारेन्टाइन भवन निर्माण गर्ने तथा क्रसबोर्डर मिटिङ गर्ने , हेल्थ डेस्क बढाउने तयारी गरेकाे छ । चीनबाट फैलिएको कोरोना भाइरस विश्वभर देखिन थालेको तथा खुल्ला सिमाना भएको छिमेकी देशमा समेत देखिएकोले विमानस्थल र सीमामा सरकारले सुरक्षा बढाउन लागेको हो । 

सीमामा आवगमन कम गर्ने, निकासी नियन्त्रण गर्ने, मास्क र औषधीको आपूर्तिमा समस्या पर्न नदिने गरी उत्पादन बढाउने, भारतबाट औषधीसँगै आत्यावश्यक सामाग्रीकाे आयात गर्ने निर्णय बैठकले गरेको छ । 

उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले भारत सरकारले अत्यावश्यक औषधिको माग गरेमा नेपाल सरकारलाई आपूर्ति गर्ने खबर पठाएको भन्दै औषधी अभावको समस्या नहुने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घसँग समन्वय गरी छिटोभन्दा छिटो मास्कको उत्पादन बढाउने निर्णय भएकाे उहाँले बताउनुभयो । विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई कोरोना सङ्क्रमण छिटो हुन सक्ने भएकाले छिटो परीक्षा सम्पन्न गराउन शिक्षा मन्त्रालयलाई निर्देशन समेत दिएको छ । 

कोरोना नियन्त्रण र रोकथामका लागि विश्व बैंकबाट सहायता लिने सङ्क्रमित देशहरुमा स्वास्थ्य सचेतना सम्बन्धी काम गर्ने, प्रदेश सरकार र पालिकालाई आपूर्ति व्यवस्थाका लागि अनुरोध गर्ने लगायतका निर्णय समेत बैठकले गरेको छ । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया