डाक्टर केसीले कहिल्यै अनसन बस्न नपर्ने गरी सहमति भयो : नेकपा नेता श्रेष्ठ

 साउन १०, २०७५ बिहीबार १७:३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – २७ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसी र सरकारबीचको वार्ता निष्कर्षमा पुगेको छ । डाक्टर केसीले उठाएका धेरैजसो माग पूरा गर्न सरकार सहमत भएपछि आज दिउँसो सिंहदरबारमा बसेको वार्ता निष्कर्षमा पुगेको वार्ता टोलीका सदस्यले जनाएका छन् । 

सिंंहदरबारको वार्ता सकेर एमाले नेता सुवासचन्द्र नेम्वाङ र केदाभक्त माथेमासहितको वार्ता टोली प्रधानमन्त्री बालुवाटार गएको छ । बालुवाटारमा सहमतिमा हस्ताक्षर गरे पनि आज नै डाक्टर केसीको अनसन तोडिने सम्भावना रहेको नेकपा नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । तर डाक्टर केसी पक्षले सरकारले गरेका सहमतिमा पूर्ण सहमति नजनाएको डा.पक्षका वार्ता टोलीका सदस्यले बताएका छन । 

नेकपा नेता कृष्णगोपाल श्रेष्ठले डाक्टर केसीले कहिल्यै पनि अनसन बस्न नपर्ने गरी सहमति भएको जनाउनुभएको छ । चिकित्सा सेवालाई साँच्चै नै उत्कृष्ट र सर्वसुलभ बनाउने गरी दुवै पक्ष सहमत भएकाले आउँदो दिनमा डाक्टर केसी अनसन बस्नै नपर्ने श्रेष्ठले स्पष्टले पार्नुभयो । 

सरकारसँग भएका सहमतिबारे डाक्टर केसीसँग छलफल गर्न अहिले केसी पक्षको वार्ता टोली शिक्षण अस्पतालमा पुगेको छ । डा.केसीले काठमाडौँमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने र कम्तीमा ३ वर्षसम्म अस्पताल सञ्चालन नगरी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाइने विषयमा सरकारले ठोस सहमति नगरेसम्म सहमतिपत्रमा हस्ताक्षर नगर्ने अडान लिएको डा.केसी पक्षले बताएका छन । 

त्यससअघि आज बिहान बालुवाटारमा भएको छलफलमा डाक्टर केसी पक्ष र सरकारी वार्ता टोलीबीच बालुवाटारमा चिकित्सा शिक्षा विधेयकका केही बुँदा संशोधन गर्ने सहमति भएको थियो । हिजो बेलुकी डाक्टर केसी र सरकारको वार्ता असफल भएपछि राति फेरि अनौपचारिक रुपमा वार्ता भएको थियो ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै डाक्टर गोविन्द केसी १५ औँ पटक अनसन बसेको २७ दिन पुगेको छ । उहाँको स्वास्थ्य अवस्था अत्यन्तै चिन्ताजनक रहेको डाक्टरहरुले बताएका छन् । 

अन्तिम अपडेट: मंसिर २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया