आज राति शताब्दीकै लामो खग्रास चन्द्रग्रहण लाग्ने

 साउन ११, २०७५ शुक्रबार ६:१०:३३ | उज्यालो सहकर्मी

काठमाडौं - आज राति खग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।

शुक्रबार राति १२ बजेर ९ मिनेटमा चन्द्रग्रहणले स्पर्श गर्नेछ । खग्रास चन्द्रग्रहणको सम्मिलन १ बजेर १५ मिनेटमा हुनेछ । खग्रास चन्द्रग्रहणको समाप्ति राति २ बजेर ५८ मिनेटमा हुनेछ । राति २ बजेर ८ मिनेटमा ग्रहणको मध्य र ४ बजेर छ मिनेटमा अन्त्य हुनेछ । कूल तीन घण्टा ५७ मिनेट ग्रहण रहनेछ ।

पूर्णिमा तिथिका दिन सूर्य, चन्द्रमा र पृथ्वी एउटा सरल रेखामा पर्दा सूर्य र चन्द्रमा १८० डिग्रीमा हुन्छ । त्यसबेला सूर्य र चन्द्रमाको बीचमा पृथ्वी पर्छ । त्यस्तो अवस्थामा पृथ्वीको छायाँले चन्द्रमा ढाकिन्छ । पृथ्वी ठूलो भएकाले छायाँले चन्द्रमा पूरै ढाकिने भएकाले प्रायः खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । 

शुक्रबार राति करीब एक घण्टा ४३ मिनेटसम्म लाग्ने खग्रास चन्द्रग्रहण अंग्रेजी पात्रोअनुसार एक्काइसौँ शताब्दीको सबैभन्दा लामो चन्द्रग्रहण हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । 

ग्रहणको समयमा देखिने गाढा रातो रंगको चन्द्रमाको दृश्य खगोल तथा अन्तरिक्ष विज्ञानमा रुचि राख्ने सबैका लागि एक सुनौलो अनुभव हुने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो। 

खग्रास चन्द्रग्रहण अवलोकन गर्न चाहनेले निर्धक्क भएर आफ्नो घर अथवा खुल्ला चौरबाटै नाङ्गो आँखाले अवलोकन गर्न सक्नेछन् । वैज्ञानिक मतअनुसार चन्द्रग्रहण हेर्दा हानि नहुने भट्टराईले बताउनुभयो । 

राति १२ बजेर ९ मिनेटमा शुरु हुने ग्रहणले चन्द्रमालाई ढाक्दै जाने क्रममा १ बजेर १५ मिनेट जाँदा पूरै ढाक्नेछ । अवलोकनकर्ताले १ बजेर १५ मिनेटदेखि एक घण्टा ४३ मिनेटसम्म अर्थात् दुई बजेर ५८ मिनेटसम्म चन्द्रमालाई तामा रंगमा देख्नेछन् । यस अवधिलाई खग्रास भनिन्छ । त्यसपछि ग्रहण क्रमशः कम हुँदै राति ४ बजेर ४ मिनेटमा सकिनेछ । 


 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया