‘यो बेला विदेशबाट पठाएको पैसा बचाऔं’

 चैत ६, २०७६ बिहिबार १६:३१:३१ | उज्यालो सहकर्मी

खाडीका ६ देश र मलेसियामा गरी बिहीबार दिउँसोसम्म २१ सय ४६ जनामा कोरोनाको संक्रमण भएको छ । खाडीका देश र मलेसियामा कोरोनाको संक्रमितको संख्या बढ्दै जाँदा त्यहाँ कार्यरत नेपाली श्रमिकको मनमा डर पनि बढ्दो छ । वैदेशिक रोजगारीमा गएका र उनीहरुका परिवारलाई यतिबेला दुई ओटा डर छ । पहिलो स्वास्थ्यको र दोस्रो चाहिँ पैसाको । 

स्वास्थ्य के हुने हो, कसरी जोगिने भन्ने डर त हुने नै भयो । सँगै अब जागिर गुम्ने पो हो कि, भइरहेको कमाइ के होला भन्ने पनि चिन्ता छ । परिवारको सदस्यलाई पनि यही चिन्ताले पिरोलेको होला । हामीले चेत्ने बेला यही हो । यसअघि तपाईँले विदेशबाट पठाएको पैसाको जोहो गर्नुभएको थिएन र अनावश्यक खर्च गर्नुभएको थियो भने अब सोच्नुहोस् ।

यस्तो बेलामा हामीले संयमता अपनाउनुपर्छ र फजुल खर्च गर्न हँुदैन । सकेसम्म अनावश्यक खर्च नगरौं । गरिरहने खर्च पनि सकेसम्म कटौती गरौं । विदेशबाट प्राप्त पैसाको उचित व्यवस्थापन गर्ने उपाय अवलम्ब गरौं । बचाएर राख्ने हो भने यस्तै आपतविपदको बेलामा काम लाग्न सक्छ । बचत गरेको पैसाले यस्तै आपतविपदका बेला हाम्रो दैनिकी सामान्य राख्न मद्दत गर्छ । 

कोरोनाले विदेशमा नेपालीको काम गुमेमा रेमिट्यान्समा असर 

पोहोरको आर्थिक वर्षमा ८ खर्ब ८९ अर्ब रेमिट्यान्स भित्रियो । यो आर्थिक वर्षमा पनि यो अनुपात बढ्ने अपेक्षा थियो । तर अहिले विदेश जाने बढे पनि रेमिट्यान्स आप्रवाह घटेको छ । अहिले त कोरोनाकै कारण नेपाल सरकारले श्रम स्वीकृति दिन बन्द गरिसक्यो ।

विदेशमा रहेका पनि केही समयका लागि नेपाल फर्किन पाउने छैनन् । यस्तो अवस्थामा चिन्ताको विषय यो छ कि रेमिट्यान्स घट्छ र यसले देशको अर्थतन्त्रमा ठूलो असर गर्ने त होइन !

कोरोनाको कारण नेपाली श्रमिकको मुख्य गन्तव्य देशको अर्थतन्त्र डगमगायो भने त्यहाँ नेपाली श्रमिकले रोजगारी गुम्यो भने पक्कै पनि असर पर्छ । यसको चिन्ता लिनु पर्छ । तेलको मूल्य घट्दा खाडीका देशको अर्थतन्त्र कमजोर भयो भने पनि देशमा आउने रेमिट्यान्समा केही असर पर्छ । 

तर अहिले जे हिसाबले काम गरिरहेका छन्, त्यो काम पाइरहे भने चाहिँ उल्लेख्य गिराबट नआउन सक्छ । तर यही अवस्था पाँच ६ महिना रह्यो भने चाहिँ नेपालले चिन्ता गर्नुपर्छ । यो प्रभाव कति हो भनेर ध्यान दिनुपर्छ । 

त्यसैले तपाईँ वैदेशिक रोजगारीमा हुनुहुन्छ भने आफ्नो स्वास्थ्यसँगै आफ्नो कामको पनि ध्यान दिनुहोस् । 

अहिले कोरोनाले संसारभरी असर गरिरहँदा विदेशमा कमाइ गर्नेले भने यसको फाइदा लिन सक्ने अवसर पनि छ । अहिले अमेरिकी डलरको भाउ बढिरहेको छ । यतिबेला पैसा पठाउँदा अघिपछिको भन्दा फाइदा हुन सक्छ । यो अवस्था सुधार भयो भने डलरको भाउ घट्छ । त्यसैले यो अवसरको लाभ लिन पनि म विदेशमा रहेका नेपालीलाई अनुरोध गर्छु । 

(नेपाल राष्ट्र बैंक पूर्व कार्यकारी निर्देशक नरबहादुर थापासँगको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया