डिजेल, पेट्रोल र ग्यास सञ्चित गरेर दुर्घटना ननिम्त्याउनुहाेस् : मन्त्री भट्ट

 चैत ६, २०७६ बिहीबार १८:४०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले काठमाण्डौ उपत्यकाका ५ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । 

कोरोना भाइरसबाट देशलाई जोगाउन सरकारले गरेको पूर्व तयारीका बारेमा जानकारी दिन बिहीबार सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आपूर्ति व्यवस्थापनलाई सहज बनाउन उपत्यकाका ५ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गरिने जानकारी दिनुभएको हो ।

उहाँले खाद्यान्न, नुन, चिनी, डिजेल, पेट्रोललगायतका वस्तुहरु पर्याप्त मात्रामा रहेको बताउनुभयो । मन्त्री भट्टले अन्तर मन्त्रालय समन्वय गरेर बजार अनुगमनलाई तीव्रता दिइएको जानकारीसमेत गराउनुभयो ।

डिजेल, पेट्रोल र ग्यास सञ्चित गरेर दुर्घटना ननिम्त्याउन पनि उहाँले आग्रह गर्नुभयो । सामान्य अवस्थामा २९ हजार मेट्रिक टन ग्यास आवश्यक पर्ने भए पनि अहिले ४५ हजार मेट्रिक टन आयात भइरहेको उहाँले बताउनुभयो ।

अहिले सरकारसँग ३० लाखसम्म सिलिण्डर भर्नसक्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो । कालोबजारी गर्नेहरुलाई जरिबाना गरिएको उल्लेख गर्दै मन्त्री भट्टले अब जेलसम्मको सजाय हुन सक्ने बताउनुभयो ।

उहाँले माघमा ४० जना, फागुनमा १०१ जना र चैत ६ गते सम्म ५६ जनालाई कारवाही गरिएको बताउनुभयो ।

प्रधानमन्त्री मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले कैदीबन्दीलाई छोड्ने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताउनुभयो । संक्रमण फैलिएमा जेलभित्रै आइसोलेसनमा राख्ने कि छुट्टै राख्ने भन्ने विषयमा गृहमन्त्रालयले सम्बन्धित पक्षसँग छलफल गरिरहेको उल्लेख गर्दै उहाँले तत्काललाई बन्दी छोड्ने निर्णय नभएको बताउनुभयो ।

कोरोना भाइरसको सामना गर्ने हैसियतमा सरकार रहेको उल्लेख गर्दै उहाँले प्रदेश सरकारहरुसँग समन्वय गरेर सरकार अगाडि बढिरहेको बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया