सैनिक हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

 चैत ८, २०७६ शनिबार १३:४७:२० | रासस
unn.prixa.net

झापा - सैनिक हुँ भन्दै किराना पसलेलाई ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका-८ का ४६ वर्षीय राजकुमार राउत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

उनले मेचीनगर नगरपालिका-१२ मा रहेकाे चारआलीको सुम्निमा पारुहाङ किराना पसल सञ्चालक डाकबहादुर राईलाई एक लाख दुई हजार रुपैयाँ नगद ठगी गरेका थिए ।
 
राउतले आफू सैनिक भएको र मेसको कामको जिम्मेवारी रहेको बताउँदै मेसमा बचेको सामान सस्तो मूल्यमा दिने प्रलोभन देखाएर राईलाई ठगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । 

राउतले राईलाई पैसा र गाडी लिएर चारआलीमा रहेकाे सेनाको ब्यारेकको गेटमा आउन भनेका थिए । उनले रकम बाटैबाट लिई चालक ख्याम अधिकारीलाई सामान लिन सेनाको गेटमा बोलाएको प्रहरीको भनाइ छ । 

सामान लिन गाडी लिएर गएका अधिकारीले गेटमा पुग्दा निज व्यक्ति नभेटिएको र उनले दिएको सम्पर्क नम्बरमा समेत फोन गर्दा नउठेपछि तत्काल प्रहरी चौकी चारआलीमा निवेदन दिएका थिए ।

प्रहरीले राईले दिएको निवेदन र हुलियाको आधारमा खोजतलास गरेकाे थियाे ।  उनलाई शुक्रबार काँकरभिट्टाबाट पक्राउ गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

अनुसन्धानका क्रममा राउतले आफ्नो नामसमेत ढाँटी फरक-फरक सिमकार्ड प्रयोग गरी चन्द्रगढी, चारआली, धुलाबारी, बिर्तामोड, मोरङको उर्लाबारी, विराटनगर र काभ्रेलगायतका दर्जनौँ ठाउँमा किराना पसललाई सैनिकको ब्यारेकमा बचेको सामान सस्तोमा दिने भन्दै सयौँलाई ठगी गरेको पाइएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखी थप अनुसन्धान गरिरहेकाे प्रवक्ता श्रेष्ठले बताउनुभयो । उनको साथबाट प्रहरीले ५४ हजार रुपैयाँ नगद, एक थान मोबाइल र सिमकार्ड बरामद गरेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया