सिल्क एअरको यस्तो थियो लफडा

 चैत ९, २०७६ आइतबार १०:३६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरस (काेभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले २० मार्चदेखि लागु हुने गरी युरोप र पश्चिम एसियाबाट आउने नागरिकमाथि राेक लगाएकाे थियाे । त्यस्तै खाडी क्षेत्रका देशहरु इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती देशलाई ट्रान्जिट बनाइ अन्य देशबाट आउने नागरिकमाथि पनि प्रतिबन्ध लगाएकाे थियो ।

समितिको निर्णयअनुसार २० तारिख अर्थात् शुक्रबार रातिदेखि नेपालमा पाँच देशका जहाज मात्रै आउन पाउँछन् । भारत, चीन, सिङ्गापुर, हङकङका जहाज मात्रै नेपाल आउन पाउँछन् । ती जहाजले पनि नेपालले हवाई उडान प्रतिबन्ध लगाएका देशका यात्रु बोकेर नेपाल आउन पाउँदैनन् । 

सिङ्गापुर एअरलाइन्सको जहाजलाई आइतबार रातिसम्म नेपाल आउन प्रतिबन्ध नभएकाले जहाज सधैँ जस्तो गरेर शनिबार राति ८ बजेर ४० मिनेटमा अवतरण हुने तालिकासहित ९८ जना यात्रु लिएर नेपाल आएको थियो । तर सिङ्गापुरबाट आएको जहाज नेपालको आकाशमाथि प्रवेश गर्ने बित्तिकै हल्ला चल्यो, 'जहाजमा एक जना युरोपबाट आएका नागरिक पनि छन्' ।

सरकारले युरोपबाट आउने या ट्रान्जिट भएर आउने कुनै पनि नागरिकलाई नेपाल छिर्न प्रतिबन्ध लगाएको थियो । तर जहाजमा युरोपका नागरिक भएको हल्ला चल्यो । 

हल्लाबारे पाइलटले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी गराए । विमानस्थलको एअर ट्राफिक कन्ट्रोलर अर्थात् एटीसीले विमानस्थल प्रशासनलाई यो कुरा भने । नेपालले प्रतिबन्ध लगाएका देशका यात्रु रहेकाले जहाजलाई नेपालमा अवतरणको अनुमति नदिने निर्णय भयो । त्यतिञ्जेल जहाज मकवानपुरमाथि आइसकेको थियो । एटीसीले पनि नेपालले प्रतिबन्ध लगाएको देशका नागरिक बोकेर आएकोले अवतरण अनुमति नदिने भन्दै जहाजलाई सिङ्गापुर नै फर्कन आदेश दियो ।

तर जहाजका पाइलटले जहाजमा इन्धन कम रहेकाले भरेर मात्रै फर्कने भन्दै अवतरणको अनुमति मागे । अन्तर्राष्ट्रिय नागरिक उडड्यन सङ्गठनको प्रावधान अनुसार इन्धन सकिएको जहाजलाई अवतरण अनुमति दिनुपर्ने भएकाले एटीसीले जहाजलाई अवतरण गर्न दियो । 

अवतरण गरेर जहाजले तेल हालेर फेरि सिङ्गापुर फर्कनको लागि रनवे मा ब्याक हुन लाग्दा विमानस्थलभित्र रहेका यात्रुले हो–हल्ला गरे । आफ्नो देशमा आइसकेकाले कुनै पनि हालतमा फेरि सिङ्गापुर नजाने भन्दै नाराबाजी गरे । विमानस्थलभित्र नाराबाजी बढ्दै गएपछि पाइलटले जहाज उडाएनन् । विमानस्थलभित्र होहल्ला भइरह्यो ।

आफन्तलाई लिन विमानस्थल पुगेका र सिल्क एअरको जहाजबाट सिङ्गापुर जान भनेर विमानस्थल पुगेका एक सय ६५ जनाले पनि विमानस्थलको आगमन कक्ष र प्रस्थान कक्षबाहिर नाराबाजी गरिरहेका थिए । 

त्यसपछि विमानस्थल प्रशासनले सरकारका अन्य निकायसँग सल्लाह गर्‍यो । सबै यात्रुको पासपोर्ट पार्किङ क्षेत्रमा रहेको जहाजभित्रै जाँच भयो र जहाजमा कुनै पनि युरोपेली देशका नागरिक नभएकाे पुष्टि भयो । सबै नेपाली पासपोर्ट लिनेहरु थिए । बरु केही दिनदेखि सिङ्गापुरमै बस्दै आएका नेपाली पासपोर्ट भएका जापानी मुलका एक दम्पति र अस्ट्रेलियन मुलकी एक नेपाली महिला रहेको पुष्टि भयो । उनीहरु नेपालले प्रतिबन्ध लगाएका देशबाट नआएको पुष्टि भयो ।

अवतरण भएको झण्डै तीन घन्टापछि उनीहरुलाई ओरालेर विमानस्थलमा सबैको बृहत् स्वास्थ्य जाँच गरियो । राति नै तीन जनालाई क्वारेन्टाइन पठाइयो । अरु यात्रु होम क्वारेन्टाइनमा बस्ने सहमति सहित घर गए । 

त्यही जहाजमा सिङ्गापुर जान भनेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका एक सय ६५ जना नागरिकले पनि विमानस्थलको प्रस्थान कक्षमा हो–हल्ला गरिरहेका थिए । एक सय ६५ जनालाई सिल्क एअरले होटलमा राख्यो । शनिबार राति सिङ्गापुर जान नपाएका एक सय ६५ यात्रु बोकेर सिल्क एअरको जहाज आइतबार दिउँसो सिङ्गापुर उड्नेछ ।    

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Arjun Tiwari

    March 22, 2020, 2:18 p.m.

    लफडा शब्द उपयुक्त भएनकी त ?

  •  0 Reply

तपाईको प्रतिक्रिया