गोदाममै थन्कियो खाद्य संस्थानको चामल

 साउन १२, २०७५ शनिबार ६:२७:३ | शिव ढुंगाना

ओखलढुंगा– नेपाल खाद्य संस्थानको शाखा कार्यालयले ओखलढुंगामा शुलभ मूल्यमा उपलब्ध गराउँदै आएको चामलको बिक्री हुन छाडेको छ । व्यापारीहरूले गाउँगाउँमै चामल पुर्‍याउन थालेपछि सदरमुकाम ग्राहकहरु सुलभ मूल्यको सरकारी चामल खरिद गर्न सदरमुकाम आउन छाडेका छन् । 

बिक्री हुने क्रम क्रमशः घट्दै गए पनि यसवर्ष खाद्य संस्थानले ओखलढुंगामा चामलको मूल्य ४ हजार २ सय रूपैयाँ प्रति क्विन्टल पुर्‍याएको छ । अघिल्लो वर्षको तुलनामा यो मूल्य प्रति क्विन्टल १ हजार ७० रूपैयाँ बढी हो । तराईबाट खरिद गरेर आयात गरिने चामल यसवर्ष कुटानी महँगो पर्न गएकाले मूल्य बढाइएको नेपाल खाद्य संस्थान शाखा कार्यालय ओखलढुंगाका निमित्त प्रमुख प्रदीपकुमार कापडीले जानकारी दिनुभयो 

पछिल्लो पटक सरकारी चामलमा पनि मूल्य बृद्धि भएको, बजारमा उधारो कारोबार हुने र गाउँमै भमक पाउन थालेपछि संस्थानको चामला उपभोक्ताको आकर्षण घटेको हो । तीन चर वर्ष पहिलेसम्म संस्थानमा चामल लिनेको लाइन लाग्ने गथ्र्यो । 

यसवर्ष ८ सय क्विन्टल चामल ठेक्का लागेकोमा खाद्य संस्थानले साढे ५ सय क्विन्टल चामल बिक्री गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा ८ सय क्विन्टल चामल बिक्री भएको थियो । ओखलढुंगामा बिक्री हुने खाद्य संस्थानको चामलमध्ये करिब १ सय ४४ क्विन्टल चामल बर्सेनि जिल्ला कारागार कार्यालयमा खर्च हुन्छ ।   

सडक सञ्जालको विस्तारसँगै स्थानीय व्यापारीहरूले उधारोमै गाउँगाउँमा चामल पु¥याउन थालेपछि संस्थानको चामल बिक्री हुन छाडेको संस्थानका शाखा प्रमुख  कापडीको भनाइ छ । केही वर्ष अघिसम्म ओखलढुंगामा १९ सय क्विन्टलसम्म चामल बिक्री भएको संस्थानसँग रेकर्ड छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया