स्वास्थ्य सामग्री खरिदमा संलग्नलाई पदमुक्त गर्न कांग्रेसको आग्रह

 चैत २१, २०७६ शुक्रबार १४:२१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख विपक्षी दल नेपाली कांग्रेसले मेडिकल सामग्री खरिद प्रकरणका बारेमा निष्पक्ष अनुसन्धान गर्न ढिलो गरिएको र ढाकछोप गर्ने प्रयत्न भइरहेकोे भन्दै आपत्ति जनाएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर मेडिकल सामग्री खरिदका बारेमा निष्पक्ष अनुसन्धान गर्न ढिलाइ गर्ने, ढाकछोप गर्ने तथा समाचार लेख्ने र बोल्नेहरुलाई हतोत्साहित गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभएको हो ।

कोरोना भाइरसको जोखिम कम गर्नका लागि युद्धस्तरमा काम गर्नुपर्ने बेलामा अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पुर्‍याउने काम गरेको भन्दै विज्ञप्तिमा यो ढिलासुस्ती र अनियमिततामा संलग्नहरुलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारबाहीको प्रक्रियालाई सघाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिएको छ । 

यस्तै, विज्ञप्तिमा अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शिता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व स्वास्थ संगठनको मापदण्ड विपरीतका कमसल सामग्री खरिदलगायत आपत्तिजनक र लज्जास्पद घटना कुनै पनि दृष्टिले माफीयोग्य नभएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा लक डाउनका कारण एक ढंगले बन्द समाजको स्थिति बनेका बेला भ्रष्टाचारका प्रकरणले सहजता पाउन सक्ने वातावरणलाई दृष्टिगत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिद प्रकरणको गहिरो अनुसन्धान गर्न र कार्वाहीको प्रक्रिया अघि बढाउन जरुरी रहेकोमा जोड दिइएको छ । 

सभापति देउवाले लकडाउनको प्रतिकूल अवस्थामा पनि क्षमताले भ्याएसम्म सूचना सम्प्रेषण र सचेतनाको कार्य गर्दै आएकोमा संचारमाध्यमहरुलाई विशेष कदर र प्रोत्साहन गर्नुपर्नेमा हतोत्साहित गर्न खोजिनु दुःखद भएको बताउनुभएको छ ।

काठमाडौ प्रेस अनलाइनमा प्रकाशित खरिद प्रकरणको समाचार साइबर अतिक्रमणमा पर्नु आपत्तिजनक रहेकाले यसका दोषीलाई कारबाही गर्न पनि सभापति देउवाले माग गर्नुभएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया