उद्यमशीलता : सिस्नो बेचेरै मनग्य आम्दानी

 साउन १२, २०७५ शनिबार १५:१३:८ | प्रताप बानियाँ

म्याग्दी – थरिथरिका अर्गानिक उत्पादनको चाङ । ग्राहकको चाहना र माग अनुसारका स्थानीय उत्पादन सङ्कलन र बिक्री ।

तालिम लिएपछि उद्यमी बन्नुपर्छ र स्वरोजगार हुनुपर्छ भन्ने भावना जागृत भएर सिस्नोको पाउडर उत्पादनमा लागेकी म्याग्दीको बेनी नगरपालिका–९, नेप्टेचौरकी गंगा खत्रीलाई अहिले उत्पादन बिक्री गर्न भ्याइनभ्याई छ ।

 

खेर जाने सिस्नोबाट पाउडर बनाउने तालिम २०५८ सालमा पहिलोपटक लिएपछि उहाँले २०६३ सालदेखि व्यवसाय थाल्नुभएको हो । खेतबारी र वनजङ्गलमा खेर गैरहेको सिस्नो टिपेर पाउडर बनाई मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने सीप सिकेपछि उहाँसहित ११ जना दिदीबहिनी मिलेर सिस्नोको पाउडर उत्पादन गर्न लाग्नुभएको थियो ।

संगम म्याग्दी र लघुउद्यम विकास कार्यक्रम मार्फत सञ्चालित तालिम लिएपछि सुरुमा सिस्नोको पाउडर उत्पादनमा लागेकी उहाँ मार्केटिङ सम्बन्धी तालिमपछि बजारीकरणतर्फ लागेको बताउनुहुन्छ । 

०६३ सालसम्म सिस्नो पाउडर उत्पादनमा मात्र केन्द्रीत रहेकी खत्री त्यसपछि बेनीबजारमा झरेर आफ्नै घरबाट सिस्नो पाउडरको बिक्री वितरण सुरु गर्नुभयो । खत्रीले बेनीको मङ्गलाघाटमा रहेको आफ्नै घरमा गलेश्वर मसला उद्योग स्थापना गरी सञ्चालनमा ल्याउनुभयो । सँगै उहाँले कुटानी पिसानीका लागि विद्युतीय मिल पनि सञ्चालन गर्नुभएको छ ।
नेप्टेचौरमा उत्पादित सिस्नोको पाउडर प्याकिङ नगरेको मूल्य तीन सयदेखि चारसय रुपैयाँसम्म पर्छ । प्याकिङसहितको होलसेल चार सयदेखि पाँच सय रुपैयाँ र फुटकर प्रति प्याकेट पाँच सयदेखि माथि पर्ने गरेको उद्यमी खत्रीको भनाई छ ।

समूहमार्फत उत्पादित सिस्नो म्याग्दीसहित विभिन्न ठाउँमा पुग्ने गरेको छ । समूहमा अहिले १६ जना महिला उद्यमी आबद्ध छन् । खेतबारीको डिल, कान्ला, खोल्सा र वनजङ्गलमा प्रशस्तै मात्रामा पाइने सिस्नोको कलिलो मुना टिपेर घाममा सुकाई प्रशोधन गरेर पाउडर उत्पादन गरिन्छ ।

उद्योगमा स्थानीय उत्पादन 

उद्यमी खत्रीको गलेश्वर मसला उद्योगमा विभिन्न प्रकारका स्थानीय उत्पादन छन् । खत्रीले मसला उद्योगको टाँसीमा सिस्नोको पाउडर, फापरको पिठो, मकैको आटो, कोदाको पिठो, भाङ्गो, भटमास, सिमी, बोडी, केराउ, बेसार, मुलाको सिन्की, टिम्मुर लोकल जातको चामलसहितका ग्रामीण भेगमा उत्पादन हुने अर्गानिक उत्पादन राख्नुभएको छ । 

उहाँले गाउँमा सङ्कलन गरेको स्थानीय उत्पादनलाई आवश्यकता अनुसार कुटानी पिसानी गरेर पनि बिक्री गर्दै आइरहनुभएको छ । उद्योगमा विद्युतीय मिल जडान, सामान राख्ने टाँसी, तौल मेसिन, अन्य मेसिनका साथै उत्पादनसहित झण्डै तीनलाख रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो ।

उहाँले उद्योगबाट महिनाको ५० हजारको कारोबार र २० हजारभन्दा बढी बचत हुने गरेको बताउनुभयो । उहाँका श्रीमान रोजगारीको सिलसिलामा विदेशमा हुनुहुन्छ । 

सिस्नो स्वास्थ्यका लागि फाइदाजनकः

हरिया सागपातमध्ये सिस्नोमा सबैभन्दा धेरै ‘भिटामिन ए’ पाइन्छ । सिस्नोलाई तरकारी बनाएर खान सकिन्छ भने बिहान बेलुका दालमा मिसाई पकाएर समेत खान सकिन्छ । यसैगरी उमालेको एक गिलास तातोपानीमा एक चम्चा सिस्नोको धुलो मिसाएर खाए पनि पोषणका दृष्टिले लाभदायक हुने पोषणविदहरु बताउँछन् । 

म्याग्दीको सिस्नो विदेशसम्म 

म्याग्दीमा उत्पादन भइरहेको सिस्नोको पाउडर सदरमुकाम बेनी हुँदै पोखरा, काठमाडौं, बुटवलसहित देशका विभिन्न ठाउँमा मात्र नभएर जापान, अस्ट्रेलियालगायत देशमा समेत पुग्ने गरेको छ ।

जिल्लामा हुने मेला, महोत्सवमा सिस्नोको प्रदर्शन गर्ने गरिएको छ भने विदेश जानेहरुले खरिद गरेर लैजाने गरेका छन् । 

पेशा व्यवसायबाट आत्मनिर्भर बन्नुपर्छ :

१५ वर्षभन्दा बढी समय सिस्नोको पाउडर उत्पादन र बिक्रीमा सहभागी महिला उद्यमी गंगा खत्रीले पेशा व्यवसाय गरेर आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । समाज तथा घर परिवारमा आर्थिक अभावकै कारण विशेष गरी महिलामाथी हिंसा हुने हुँदा पेशा व्यवसायमा लाग्नसके यस्ता हिंसा समेत कम हुने उहाँले बताउनुभयो ।

उद्यम गरेपछि जीवन चलाउन धेरै सजिलो हुने भन्दै उहाँले भन्नुभयो– ‘पेशा व्यवसाय गर्नुपर्छ, आत्मनिर्भर बन्नुपर्छ ।’ 
 

अन्तिम अपडेट: चैत १४, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया