तेह्रथुममा हिंसा पीडितका लागि आवास गृह निर्माण हुने

 साउन १३, २०७५ आइतबार १३:५:५३ | उज्यालो सहकर्मी

तेह्रथुम – तेह्रथुममा हिंसामा परेका पीडितहरुलाई राख्न सुरक्षित आवास गृह निर्माण हुने भएको छ । 

हिंसापीडितहरुका लागि छुट्टै रेखदेख गर्ने निकाय नहुँदा समस्या भएको भन्दै सरोकारवालाहरुले गुनासो गर्न थालेपछि म्याङलुङ नगरपालिकाले चालु आर्थिक वर्षको बजेटबाट सुरक्षित आवास गृह निर्माण गर्ने भएको हो ।

विभिन्न हिंसामा परी अदालतसम्म आएका महिला, बालबालिका र ज्येष्ठ नागरिक लगायतका लागि छुट्टै रेखदेख गर्ने निकाय नहुँदा त्यस्ता पीडितहरुलाई अर्को जिल्लासम्म पुर्‍याउनुपर्ने अवस्था रहेको थियो । 

हिंसामा परेका बेला मुद्धा दर्ता भएपछि पीडितहरुको सुरक्षा र स्वास्थ्यका दृष्टिकोणले खतरा हुने मानिन्छ । उनीहरुलाई छुट्टै स्वतन्त्र निकायको मातहतमा राखेर घटनाबारे स्वतन्त्र छानविन गर्ने वातावरण बनाउने गरिन्छ । 

तर त्यस्तो बेला पीडितलाई जिल्लाबाहिर लैजानु पर्दा आवत्जावत्मै मात्रै हजारौँ रुपैयाँ खर्च भइरहेको भन्दै जिल्लाका सरोकारवालाले चिन्ता व्यक्त गर्दै आएका थिए । 

त्यस्ता हिंसापीडितहरुका लागि नगरपालिकाको आर्थिक वर्ष २०७५-०७६ को बजेटबाट ८ लाख रुपैयाँ बजेट विनियोजन गरी आवास गृह निर्माण गर्न लागिएको नगर प्रमुख सन्जयकुमार तुम्बाहाम्फेले बताउनुभयो ।

विशेषगरी बलात्कार, महिला हिंसा, कुटपिट र बाल हिंसाका घटनामा पीडितको रेखदेखका लागि स्वतन्त्र निकायको जिम्मा लगाउने प्रचलन रहेको छ ।

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया