जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा
पुस ३, २०८१ बुधबार
चितवन – आठौं अन्तर्राष्ट्रिय बाघ दिवस आइतबार विभिन्न कार्यक्रम गरी मनाईँदै छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ पाइने १३ देशको सम्मेलनले जुलाई २९ लाई अन्तर्रा्ष्ट्रिय बाघ दिवसको रुपमा मनाउने निर्णय गरे अनुसार हरेक वर्ष यो दिवस मनाउने गरिएको हो । सम्मेलनले सन् २०२२ सम्ममा विश्वमा बाघको संख्या दोब्बर बनाउने लक्ष्य पनि निर्धारण गरेको थियो ।
चितवनमा पनि सम्बृद्धीका लागि बाघ संरक्षण भन्ने नाराका साथ बाघ दिवस मनाइएको छ । बाघ संरक्षण अभियानलाई सरकारले प्राथमिकता दिनुपर्ने संरक्षणकर्मीहरुले बताएका छन् । बाघ दिवसको अवसरमा रत्ननगर र भरतपुर जोड्ने जौविक मार्ग टिकौली जंगलमा कार्यक्रम गरिएको थियो । जौविकमार्ग टिकौली जंगल भएर पार गर्ने सवारीलाई वन्यजन्तु संरक्षण सम्बन्धी र यस मार्गमा सवारी चलाउदा ध्यान दिनुपर्ने कुराहरु समेटिएको पर्चा, सरसफाईसगेैँ बाघको तस्बिर संरक्षणकर्मीहरु पेन्टिंग गरेर दिवस मनाइएको थियो ।
विश्वमा अहिले झण्डै साढे तीनहजारको हाराहारीमा बाघ रहेका छन् । सन् २०१३ मा भएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा १ सय २०, बर्दिया निकुञ्जमा ५०, शुक्लाफाँटा वन्यजन्तु आरक्षमा १७, पर्सा वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्र तथा आसपासका वन क्षेत्रमा ७, निकुञ्ज बाँके र आसपासका मध्यवर्ती क्षेत्रमा ४ गरी नेपालमा बाघको संख्या १ सय ९८ पुगेको थियो । त्यसअघि सन् २००९ को गणनामा बाघको संख्या १ सय २१ थियो । नेपालमा हरेक चार वर्षमा बाघ गणना हुँदै आएको छ ।
विश्वका १३ वटा देशमा पाटेबाघ पाइन्छ । नौ प्रजातिमध्ये तीन प्रजाति लोप भइसकेका छन् । नेपालमा पाइने पाटे बाघ भारत, भुटान र बंगलादेशमा मात्रै पाइने गरेको विज्ञहरु बताउछन् । विश्वमा ७० वर्ष अघि एक लाखको हाराहारीमा रहेको बाघ सन् २०१० सम्म आइपुग्दा तीन हजारमा झरेपछि दोब्बर बनाउन पहल थालिएको हो ।
पछिल्ला वर्षमा बाँके राष्ट्रिय निकुञ्ज घोषणा गरिनु, पर्सा वन्यजन्तु आरक्षको क्षेत्र विस्तार गरिनु, बर्दिया र शुक्लाफाँटामा बाघको बासस्थान सुधार गरिनु, आहाराको व्यवस्थापन गरिनुलगायतका कारणले संख्या बढ्दै जाने आंकलन गरिएको थियो ।
बाघका लागि चितवन राष्ट्रिय निकुञ्जलाई उपयुक्त बासस्थानको रुपमा लिइन्छ । बाघका आहारा मुख्य रुपमा ठूला जनावर चित्तल, जरायो, गौरीगाई, निलगाइ हुन् । भोकाएको बाघले करिब २२ पटकसम्म शिकारको प्रयासपछि जनावरको शिकार गर्ने गर्दछ । जसका कारण सानो जनावरले बाघलाई आहार पुग्दैन । बाघले एकैपटक ८८ किलोसम्म खान सक्ने र सातदेखि १० दिनसम्म आराम गर्ने गर्दछ ।
निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा मानविय चाप बढ्दै गएका कारणबाघ संरक्षणमा चुनौती देखिएको छ । पछिल्लो समय जनसंख्या वृद्धी र वन क्षेत्रको अतिक्रमणका कारण दुर्लभ वन्यजन्तु बाघको संरक्षण गर्न चुनौती हुँदै गएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताउनुभयो । एउटा भाले बाघका लागि १० देखि १२ वर्ग किलोमिटर क्षेत्रफल चाहिन्छ । एक क्षेत्रमा एउटा मात्रै भाले बाघ बस्ने गर्दछ ।
निकुञ्ज आसपासका वासिन्दा वन क्षेत्रमा विभिन्न श्रोतको खोजीमा आश्रीत हुनु र पानीका मुहान सुक्नुका साथै बाघको आहारा प्रजातीको जनावरका घाँसे मैदानका अतिक्रमण बढेका कारण समस्या बढ्दै गएको ढकालले जानकारी दिनुभयो ।
वर्षातको समयमा निकुञ्ज आसपासका नदीमा आउने बाढीले घाँसे मैदान पुर्ने, बाघका आहारा प्रजातिका जनावर बगाएर लैजाने गरेका कारण पनि थप चुनौती देखिएको उहाँले बताउनुभयो । बाघको बासस्थान घट्नु, अवैध चोरी शिकारी व्यापार बढ्नु, आहारा घट्नु प्रमुख चुनौती देखिएको ढकालले बताउनुभयो ।
मध्यवर्ती समेत गरी चितवन राष्ट्रिय निकुञ्जको वन क्षेत्र एक हजार तीन सय वर्ग किलोमिटर हाराहारी रहेको छ । निकुञ्जमा ६० भन्दा बढी किसिमका जंगली जनावर रहेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताउनुभयो । यसैगरी घडियाल गोही, मगर गोही, अजिङ्गरलगायत सरिसृप तथा उभयचर, बसाई सरी आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुङ्गी र विभिन्न किसिमका कीरा फट्याङ्ग्राहरू रहेका छन् । २०२९ सालमा निकुञ्ज स्थापना हुँदा २० प्रतिशत घाँसे मैदान रहेको तर अहिले घटेर १० प्रतिशत मात्र घाँसे मैदान भएको उहाँले बताउनुभयो ।
गत आर्थिक वर्षमा मात्रै निकुञ्जमा विभिन्न कारणले छ वटा बाघ मरेका छन् । जसमध्ये एउटा बाघ प्रतिशोधका कारण मानिसले विष हालेर मारेको अर्यालले जानकारी दिनुभयो । अन्य बाघ जुधेर मरेको देखिएको जानकारी दिँदै उहाँले गएको आर्थिक वर्षमा बाघकै आक्रमणबाट एक जनाको मृत्यु भएको बताउनुभयो ।
निकुञ्ज भित्र उपयुक्त वासस्थान नहुने र आहारा नपाउँदा बाघ मानव बस्ती भित्र पस्दाबाघ र मानवबीच द्वन्द्व बढ्दै गएकोले वन्यजन्तु संरक्षणमा निकुञ्ज र सरोकार राख्ने क्षेत्रले सकेको प्रयास गरिरहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।