पत्रकार दुर्व्यवहारकाे घटनाप्रति महासङ्घको ध्यानाकर्षण

 वैशाख १५, २०७७ सोमबार १९:५९:२६ | रासस
unn.prixa.net

चितवन - नेपाल पत्रकार महासङ्घले समाचार सङ्कलनका क्रममा चितनवमा प्रहरीद्वारा पत्रकारलाई गरिएको दुर्व्यवहार, पक्राउ तथा पत्रकारका सवारीसाधन र सञ्चार सामग्री नियन्त्रणमा लिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

समाचार सङ्कलनका लागि साेमबार बिहान चितवनको भरतपुरमा रहेको चौबिससकोठीमा पुगेका कायाकैरन दैनिकका सम्पादक विनोदबाबु रिजाल र रेडियो त्रिवेणीमा कार्यरत पत्रकार अर्जुन अधिकारीलाई प्रहरीले दुर्व्यवहार गर्दै पक्राउ गरेको महासङ्घले जनाएको छ । 

पत्रकारद्वयले परिचयपत्र देखाउँदा देखाउँदै प्रहरीले दुर्व्यवहार गर्दै प्रहरीकै गाडीमा राखी भरतपुरको कभर्डहलमा रहेको क्वरेण्टीनमा लगेर खिचिएको फोटो र भिडियो मेटाउनुका साथै पत्रकारका सवारीसाधन र सञ्चार साधनसमेत नियन्त्रणमा लिएको महासङ्घले निकालेकाे विज्ञप्तिमा उल्लेख छ । 

महासङ्घका महासचिव रमेश विष्टले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमको ख्याल नगरि अग्रपङ्क्तिमा रहेर नागरिकलाई सुसूचीत गराउने पेसागत कर्म निर्वाहमा रहेका पत्रकारलाई सहयोग गर्नुको सट्टा प्रहरीबाट गरिएको व्यवहार खेदजनक भएको उल्लेख गर्नुभएको छ । 

महासङ्घले घटनामा संलग्न प्रहरीमाथि कारबाही गर्न र पत्रकारको संवैधानिक अधिकारको ख्याल गर्न तथा पत्रकारको सुरक्षामा संवेदनशील बन्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । 

यसैगरी पत्रकार महासङ्घ कर्णाली प्रदेश कार्यसमितिका सदस्य तथा दैलेखका नागरिक दैनिकका सम्वाददाता गोविन्द केसीलाई समाचार लेखेकै कारण दिएको धम्कीको घटनाप्रति पनि महासङ्घले ध्यानाकर्षण भएको जनाएको छ । 

नारायण नगरपालिकाको राहत सामग्री खरिदमा अनियमिततासम्बन्धी समाचार केही दिनअघि नागरिक दैनिकमा प्रकाशित भएपछि पत्रकार केसीलाई धम्की दिइएको विज्ञप्तिमा उल्लेख छ । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Om Rana

    April 28, 2020, 6:21 a.m.

    राष्ट्रको चौथो अङ्ग आम-सन्चार लाई त राज्य कै अर्को अङ्ग ले यसरी दुर्व्यवहार गर्छ भने आम नगरिक लाई त झन के गर्छ होला ? यो अनुमान नै गर्न सकिन्न । नेपालमा अब कानुनी सशान हराको र ठेकेदार, ब्यापारी र पहुचवाला ले चलाइराको स्पष्ट देखिएको छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया