विकास निर्माणको काम अगाडि बढाउन विकास समितिको निर्देशन

 वैशाख १७, २०७७ बुधबार १९:३०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले आयोजना स्थलमा क्वरेन्टीनको व्यवस्था गरी विकास निर्माणका कामलाई सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय गौरवका आयोजना र अन्य विकास आयोजनाहरुको काम सञ्चालनमा राख्न आयोजना स्थलमा क्वरेन्टीनको व्यवस्था गरी काम अगाडि बढाउन निर्देशन दिएको हो । 

समिति सभापति कल्याणीकुमारी खड्काले कोरोना भाइरसको रोकथामका लागि लकडाउन लागू गरिए पनि विकास निर्माणका कार्यहरुलाई निरन्तरता दिन निर्देशन दिएको बताउनुभयो । बैठकमा सांसदहरुले कारोना भाइरसको प्रभावकाबीच श्रमिकहरुको हितको लागि पनि विकास निर्माणका कार्यको सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । 

त्यसका लागि निर्माण सामग्रीको उपलब्धता सहज बनाउन, मजदूरको सुरक्षा लगायतका विषयमा सरकारले ठोस नीति लिएर काम अगाडि बढाउनुपर्ने सांसदहरुले बताएका छन् । सांसद गणेशकुमार पहाडीले विकास निर्माणका काम अगाडि बढाउन निर्माण सामग्रीको उपलब्धता नभएसम्म सम्भव नरहेको बताउनुभयो । 

सांसद महिन्द्रराय यादवले विकासको सपना देख्ने तर काम गर्न नसक्ने प्रवृति यसअघि पनि रहँदै आएकाले र अहिले कोरोना भाइरसका कारण काम हुन नसकेपछि यसको बजेट अन्यत्र रकमान्तर गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

बैठकमा कोरोना भाइरसको प्रभावकाबीच विकास निर्माणको कार्यको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयसँगै राष्ट्रिय गौरवका आयोजनाहरुको सम्बन्धमा, रणनीतिक सडकहरुको सम्बन्धमा र नागरिकहरुलाई सही सूचना प्रवाह गर्ने सम्बन्धका विभिन्न विषयमा छलफल भएको थियो ।

 छलफलमा सांसदहरुले आउँदो बजेटले कृषि र रोजगारीलाई प्राथमिकता दिएजस्तै विकास निर्माणका कार्यक्रमलाई पनि प्राथमिकता दिनुपर्ने बताएका छन् ।

बैठकले पूँजीगत खर्च न्यून भइराखेको अवस्थामा कोरोना भाइरसका कारण अझबढी कम हुने भएकोले सरकारलाई दिर्घकालीन नीति ल्याउन समेत निर्देशन दिएको छ । 

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया