पहिलो पटक बेइजिङ उड्यो नेपाल एअरलाइन्स, दोस्रो वाइडबडी सिड्नी उडानमा

 वैशाख २४, २०७७ बुधबार १८:२७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल एअरलाइन्सका २ वटा वाइडबडी जहाजले आज एकै दिन अस्ट्रेलिया र चीनको उडान गरेका छन् ।

एउटा वाइडबडी जहाज २ सय ८१ जना अस्ट्रेलियन र न्युजिल्यान्डका नागरिक बोकेर अस्ट्रेलियाको सिड्नी उडेको छ । यो जहाज बिहीबार साँझ पाँच बजे नेपाल फर्कने छ । नेपाल फर्कने जहाजले मलेसियाबाट कोभिड १९ परीक्षणको लागि ३० हजार थान किट बोकेर ल्याउनेछ ।

यसलाई नेपालमा रहेको अस्ट्रेलियन दूतावासले चाटर्ड गरेको हो । केहिदिनअघि नेपाल एअरलाइन्सको जहाजले नै अस्ट्रेलियाको व्रिस्बेनको उडान गरेको थियो । 

नेपाल एअरलाइन्सको अर्को वाइडबडी जहाज चीनको बेइजिङको लागि उडेको छ । बुधबार बेलुकी पौने ६ बजे उडेको जहाजले औषधी र उपकरण लिएर आउने छ । नेपाल एअरलाइन्सले को बेइजिङ उडान पहिलो र ऐतिहासिक उडान भएको जनाएको छ ।

अहिलेको विषम परिस्थितमा गर्न लागिएको कार्गो उडान भए पनि बेइजिङ उडान निगमको उड्डयन इतिहासमै पहिलो पटक भएको निगमले उल्लेख गरेको छ । काठमाण्डौ–बेइजिङ झण्डै सात घण्टाको उडान हुनेछ ।

निगमले यसअघि चीनको शङ्घाई हुँदै जापानको ओसाका उडान गर्ने गरेको थियो । सन् १९८४ ताका निगमले यो गन्तव्यमा उडान सुरु गरेको भए पनि अप्रिल १२ सन् २००७ मा जहाज अभावले ओसाका उडान बन्द भएको थियो । अघिल्लो वर्ष भदौ १२ देखि फेरि उडान सुरु गरिए पनि विसं २०७६ फागुन १९ देखि जापानकै नारिता उडान सुरु भएपछि ओसाका गन्तव्यको उडान बन्द भएको थियो ।

चीनको ग्वान्झाओमा व्यावसायिक उडानका लागि अनुमति पाएको थियो । तर उडान हुनसकेको छैन । बेइजिङलगायत गन्तव्यमा निरन्तर पहल गरिए पनि अझै उडान अनुमति पाउन सकेको छैन ।

अहिले नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने नेपालको निजी लगानी र चीनको संयुक्त लगानी भएको हिमालय एअरलाइन्सले चीनको बेइजिङ र छोङ्गिनलगायत गन्तव्यमा उडान गर्दै आएको छ । निगमले भने ट्रान्जिटका रुपमा संघाइ उडान बाहेक अहिलेसम्म चीनमा व्यावसायिक उडान गर्न पाएको छैन ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया