निर्माण व्यवसायी भन्छन्– 'कामदार र सामग्रीमा भारतकै भर पर्नुपर्ने अवस्था छ, कसरी हुन्छ काम ?'

 वैशाख २६, २०७७ शुक्रबार १०:४३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले राष्ट्रिय गौरवका आयोजनासहित विकास निर्माणका काम सुरु गर्ने भने पनि निर्माण व्यवसायीले तत्काल काम थाल्न नसक्ने बताएका छन् । सरकारले भने अनुसार निर्माणका काम गर्न सामग्रीको अभाव र मजदुर व्यवस्थापनसँगै लागत खर्चसमेत बढ्ने भएकाले तत्काल काम सुरु गर्न नसक्ने निर्माण व्यवसायीले बताएका हुन् । 

सरकारले सरकारी तथा निजी क्षेत्रबाट सञ्चालन भएका जलविद्युत्, सिँचाइ, खानेपानी, सडक, पुल, भवन निर्माण तथा सबलीकरण गर्न अनुमति दिएको छ । तर एक स्थानमा अधिकतम १० जनाभन्दा नबढ्ने गरी काम गराउनुपर्ने, अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने, एकै ठाउँमा बस्ने व्यवस्था मिलाउने, कार्यस्थलमै खाना र खाजाको व्यवस्था मिलाउनुपर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयलाई कार्यान्वयन गर्दा खर्च व्यवस्थापन गर्न गाह्रो हुने निर्माण व्यवसायीको भनाइ छ ।

लकडाउनकाे कारण शैक्षिक गतिविधि बन्द भएकाले सरकारले निर्माणका काममा ठाउँ अभाव भए सार्वजनिक, सरकारी र निजी विद्यालयको भवनसमेत प्रयोग गर्न सकिने जनाएको छ । तर आवश्यक खर्च भने निर्माण व्यवसायीले नै गर्नुपर्नेछ ।

कामदार र निर्माण सामग्रीमा भारतकै भर : निर्माण व्यवसायी अध्यक्ष सिंह

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवी सिंहले सरकारले भने अनुसारका मापदण्डको पालना गर्न नसकिने र मौसम अनुकूल नरहेको तथा निर्माण सामग्रीको उपलब्धता कम रहेको र ढुवानी खर्च बढेको बताउनुभयो ।

‘कामदार र निर्माण सामग्रीमा भारतकै भर पर्नुपर्ने अवस्था छ, अहिले लकडाउन छ, नाका बन्द छन्', उहाँले प्रश्न गर्नुभयो,‘कसरी हुन्छ निर्माणको काम ?।’ कोरोना सङ्क्रमणको जोखिम कायमै रहेका कारण गाउँघर गएका मजदुर तत्काल फर्कन पनि नसक्ने उहाँको भनाइ छ । उहाँले निर्माण कार्यमा भारतीय मजदुरको भर रहेकाले उनीहरु फर्कने अवस्था नबनेसम्म काम अगाडि नबढ्नेसमेत बताउनुभयो ।

तर लकडाउनकाे कारण भारतीय कामदार आउन सक्ने अवस्था नै छैन । त्यस्तै गिट्टी, बालुवा र सिमेन्टबाहेक अरु निर्माण सामग्रीमा समेत भारतकै भर पर्नुपर्ने अवस्था छ । नाका बन्द रहेको यो अवस्थामा निर्माण काम कसरी सुरु गर्ने ? उहाँको प्रश्न छ ।

अध्यक्ष सिंहले अहिले कोरोना सङ्क्रमणका कारणले नयाँ मान्छे देख्नेबित्तिकै स्थानीयवासी र पालिकाले समेत सोधपुछ गर्ने अवस्था रहेकाले ठेकेदारले जोखिम मोल्न नसक्ने बताउनुभयो । आउँदो कात्तिकसम्म काम गर्न सक्ने अवस्था नरहेको भन्दै उहाँले अब मङ्सिरबाट मात्रै निर्माणका काम थाल्न सकिने बताउनुभयो ।

लकडाउनले १७ हजार निर्माण व्यवसायी समस्यामा

निर्माण व्यवसायी महासङ्घका अध्यक्ष सिंहले लकडाउनले झण्डै १७ हजार निर्माण व्यवसायी समस्यामा परेको बताउनुभयो । देशभर झण्डै आठ खर्ब रुपैयाँ लागतका पाँच हजार निर्माण आयोजना सञ्चालनमा रहेको अवस्थामा लकडाउन भएको उहाँको भनाइ छ । यो बेला काम गर्न नपाएर झण्डै ३५ अर्ब रुपैयाँ नोक्सानी हुने अवस्था छ ।

उहाँले निर्माण क्षेत्रको सुधारका लागि सरकारले नेपाली ठेकेदारहरुको क्षमतालाई हेरेर आवश्यक योजना बनाउनुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया