दाङ : पर्यटकीय तथा धार्मिकस्थलमा 'लकडाउन'को प्रभाव, आम्दानी घटेपछि सञ्चालनमा समस्या

 बैशाख २९, २०७७ सोमबार १८:७:१८ | हेमराज शर्मा
unn.prixa.net

दाङ - लकडाउनको प्रभाव दाङका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरुमा देखिएको छ ।

दैनिकरुपमा सयौँ जना घुम्न एवं पूजाआजाका लागि जाने पाण्डवेश्वर धार्मिक धाम, राप्ती शान्ति उद्यान पार्कलगायतका ठाउँमा दैनिक कार्य सञ्चालन गर्न नै धौधौ परेको छ । सरकारले सामूहिक भेला हुन रोक लगाएसँगै यी ठाउँको आम्दानी घटेपछि सञ्चालनमा समस्या परेको हो ।

तुलसीपुर उपमहानगपालिका ६ मा रहेको राप्ती शान्ति उद्यान पार्कको गेट नखुलेकै दुई महिना पुग्न लागिसक्यो । चैत्र महिनाको सुरुवातसँगै सुनसान रहेको यो पार्कले पहिलेकै अवस्थामा फर्किन अझै कति दिन पर्खनु पर्ने हो थाहा छैन । 

दैनिक सयौँ मानिसहरु घुम्न तथा पिकनिकका लागि पुग्दा मासिक कम्तीमा दुई लाख रुपैयाँ आम्दानी हुँदै आएको शान्ति उद्यानको आय दुई महिनादेखि शून्य छ । 

आम्दानी घट्नुको प्रत्यक्ष असर उद्यान सञ्चालनमा मात्र नभइ त्यहाँ रहेका जनावर तथा पशुपंक्षीमा समेत परेको उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्ली भण्डारी बताउनुहुन्छ ।

राप्ती शान्ति उद्यानको जस्तै अवस्था घोराही उपमहानगरपालिका ५ मा रहेको पाण्डवेश्वर धार्मिक धामले पनि भोगिरहेको छ । दर्शनका लागि पालो पर्खेर आफू अगाडि बस्ने दर्शनार्थीहरुको भिड यो मन्दिरले नदेखेको पनि दुई महिना पुग्न लागिसक्यो । 

अहिले यहाँका मन्दिर र मूर्तिहरु नै दर्शनार्थी पर्खेर बसिरहेको भान हुन्छ । कोभिड–१९को प्रभाव विश्वव्यापी भएसँगै मन्दिर व्यवस्थापन समितिले मन्दिर परिसरमा गरिने सार्वजनिक कार्यक्रम रोकेको थियो ।

सरकारले घोषणा गरेको लकडाउनले यहाँ आउने धार्मिक तथा पर्या पर्यटकहरुको सङ्ख्या शून्यमा झर्‍यो । मानिसहरुको आवत जावत घट्दा मन्दिर व्यवस्थापनको आयस्रोत मात्रै नभइ आफूहरुको आयसमेत घटेको पाण्डवेश्वर मन्दिरका पूजारी पदमप्रसाद गौतम बताउनुहुन्छ ।

दाङ उपत्यकाका यी दुई प्रमुख पर्यटकीयस्थलको जस्तै अवस्था जिल्लाका सबै धार्मिक तथा पर्यटकीय स्थलको छ । लमही नगरपालिकाको जखेरा ताल, बबई गाउँपालिकाको पुरन्धारा छहरा, गढवा गाउँपालिकाको जँगलकुटीलगायतका पर्यटकीयस्थल पनि सुनसान छन् ।

प्रमुख पर्यटकीय स्थलमा मानिसहरुको चहलपहल हुन नदिन प्रहरीले निगरानी गर्ने गरेको छ भने सम्बन्धित स्थलका व्यवस्थापन समितिले समेत नआउन भनि सूचना जारी गरेका छन् ।

यी क्षेत्रलाई प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रदेश सरकारले लगानी गर्दै आएको छ । आफ्नो क्षेत्रमा भएका सम्पदाको प्रचार प्रसार गरी पर्यटक भित्र्याउने स्थानीयको प्रयासमा प्रदेश सरकारले गरेको हातेमालो सार्थक बन्दै गइरहेको बेला कोरोना कहर बाधक बनेको स्थानीयहरुको भनाइ छ ।

लकडाउनकै बीचमा पनि ती ठाउँमा सानातिना निर्माणका काम भने भइरहेका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया