दाङ : झन्डै ४ हेक्टर मकैबालीमा अमेरिकी फौजी किराको प्रकोप

 बैशाख ३१, २०७७ बुधबार १५:४१:१६ | हेमराज शर्मा
unn.prixa.net

दाङ  - दाङ देउखुरीमा लगाइएको मकै बालीमा अमेरिकी फौजी किराको प्रकोप बढेको छ ।

फागुन १५ पछि लगाइएको मकैमा फौजी किरा बढी देखिएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । अहिलेसम्म तीनसय हेक्टरभन्दा बढी क्षेत्रमा लगाइएको मकैमा फौजी किरा फैलिसकेको छ ।

केही दिनअघि थोरै क्षेत्रमा देखिएको फौजी किरा गढवा गाउँपालिकाको झन्डै ४ सय हेक्टर क्षेत्रफलमा लगाइएको मकैमा फैलिएको किसानहरु बताउँछन् । भर्खरै उम्रँदै गरेका मकैमासमेत यो किरा देखिएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै सुपर जोन कार्यालयको निर्देशन अनुसार विषादी छर्के पनि अन्यत्र फैलने क्रम नरोकिएको किसानहरु बताउँछन् । फौजी किराको प्रकोप बढेपछि गोडमेलका लागि तयार भएको मकै गोडमेल गर्नै छाडेको किसानहरुको भनाइ छ ।

घोराही उपमहानगरपालिकामा देखिएको फौजी किरा विषादी हालेर नियन्त्रणमा ल्याइएको कृषि ज्ञानकेन्द्र दाङले जनाएको छ । जिल्लाकै शान्तिनगर गाउँपालिकाका किसानले पनि फौजी किरा देखिएको कृषि ज्ञानकेन्द्रलाई जानकारी गराएका छन् । 

जिल्लाका विभिन्न क्षेत्रका किसानले करिब ३ सय हेक्टर जमिनमा लगाएको मकैमा अमेरिकी फौजी किरा देखिएकाले नियन्त्रणका लागिा काम भैरहेको कृषि ज्ञानकेन्द्र दाङका प्रमुख शन्देस धितालले बताउनु भयो ।

 किरा प्रकोपको रुपमा फैलन थाले पछि जिल्लामा मिचाहा फौजी किरा नियन्त्रण टास्क फोर्स नै गठन गरेर काम भैरहेको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया