कालापानी नजिकै भाडाको घरमा बीओपी, छिट्टै गुल्म बनाइने प्रजिअको दाबी

 वैशाख ३१, २०७७ बुधबार १८:३३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

दार्चुला – दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजिकै छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) को सेवा आरम्भ भएको छ । काठमाण्डौबाट गएको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा र दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलसहितको टोलीले छाङरुमा बीओपीमार्फत सेवा सुरु गरेको हो ।

बीओपीको लागि दार्चुलाको खलङ्गाबाट निरीक्षकको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी छाङरु गएका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो । नेपाली सेनाको हेलिकप्टरले सशस्त्र प्रहरी र बन्दोबस्तीका सामानसहित तीन पटक छाङरुमा उडान गरेको थियो । १०/१० जनाले पूर्व र पश्चिमको ड्युटी गर्ने र पाँच जना हरेक बखत कार्यालयमा रहने गरी तालिका मिलाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

अहिलेलाई घर भाडामा लिएर बीओपी सञ्चालन भएको र पछि आफ्नै भवन बनाएर गुल्म नै स्थापना गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । त्यसको लागि १५ रोपनी जग्गा र ११ करोड रुपैयाँ बजेट विनियोजन भइसकेको छ । ‘अहिलेलाई भाडाको घरबाट उनीहरुले ड्युटी गर्नेछन्, पछि हामीले एक सय ६५ जना सशस्त्र रहने गरी गुल्म नै बनाउने छौँ, त्यसको लागि गृह मन्त्रीबाट छिट्टै नै पूर्वाधारको शिलान्यास हुँदैछ’, प्रजिअ पौडेलले भन्नुभयो ।

अहिले चीनको सिमा नजिकै तिङ्करमा १० जना नेपाल प्रहरी रहेको चौकी छ । यस्तै सितपुल भन्ने स्थानमा पनि १० जना प्रहरी रहेको चौकी छ । ‘आज सञ्चालन भएको बीओपीसहित कालापानी वरपर गरेर तीन वटा चौकीमा ४५ जना प्रहरी छन्, अब एक चौकीलाई अर्काको भर पनि हुने भयो’, प्रजिअ अधिकारीले भन्नुभयो ।

भारतले नेपाली भूमि लिपुलेक मिचेर सडक बनाएपछि सरकारले कालापानी नजिकै प्रहरी राख्ने निर्णय गरेको हो । तर अहिले सरकारले बनाएकोे बीओपी कालापानी क्षेत्रभन्दा १० किलोमिटर पूर्व नेपालतर्फ रहेको छ । गएको मङ्सिरमै बीओपी राख्ने नेपाल सरकारले निर्णयमा ढिलाइ भएको हो । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • सबिन बस्नेत

    May 14, 2020, 6:35 a.m.

    राम्रो काम सरकारको ।अझै सशस्त्र क्याम्प थप्दै पुर्बाधार युक्त बनाऔ ।आफ्नो सिमा रक्षाको निम्ति सबै जनता सजग हौ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया