विद्यासुन्दर शाक्यको आग्रह : आउजाउमा कडाइ गरौँ, भाडामा बस्नेहरु तत्काल काठमाण्डौ नआउनुहोस्

 वैशाख ३१, २०७७ बुधबार २१:४७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाण्डौ आवत जावतमा थप कडाइ गर्न सङ्घीय सरकारसँग आग्रह गर्नुभएको छ । नाका कडा नबनाउँदा कोरोनाको जोखिम झनै बढ्ने भन्दै उहाँले थप कडाइको माग गर्नुभएको हो ।

‘एकै दिनमा उपत्यकामा तीन जना कोरोना सङ्क्रमित भेटिएको तथ्याङ्क सार्वजनिक भएको छ । यो सकारात्मक सङ्केत होइन । कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले जारी गरेको लकडाउनको पूर्ण नभएका कारण जोखिमको खतरा बढेको छ ।’ उपत्यका नगरपालिका फोरमका अध्यक्षसमेत रहनुभएका काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो ।

उहाँले लकडाउनको ठाडो उल्लङ्घन गर्दै जाने हो भने सङ्घीय सरकारलेसमेत नियन्त्रण गर्न नसक्ने अवस्था सिर्जना हुने भन्दै स्थानीय, प्रदेश र सङ्घीय सरकार गम्भीर भएर कडाइका साथ कार्यान्वयन गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

‘आवत जावतको होडबाजीले थप समस्या हुन्छ । हामी सुरुदेखि नै उपत्यकाबाट हुने आवत जावतमा कडाइ गर्दै उपत्यकाको चहलपहललाई खुकुलो पार्नुपर्छ भन्दै आएका छौँ,’ शाक्यले भन्नुभयो, ‘सरकारी गाडी र पासको समेत दुरुपयोग गर्दै निर्वाध रुपमा उपत्यका भित्रिने क्रम नरोकिएको भन्ने जानकारी आएको छ । हिजोको घटनाले पनि त्यहि कुराको पुष्टि गर्छ । अब पनि हामी सचेत नहुने हो भने अवस्था नियन्त्रणबाहिर जान सक्छ।’

उहाँले केही कठिनाइका बीचमा पनि लामो समयदेखि उपत्यकाबासीले लकडाउनको पूर्ण पालना गरेर सहयोग गरेको भन्दै अझै केही समय धैर्य गर्न आग्रह गर्नुभयो ।

‘अझै केही समय तपाईँहरु जहाँ हुनुहुन्छ, त्यहीँ बस्नुहोस् । अहिले काठमाण्डौ नआउनुहोस्, यसले महामारी नियन्त्रणमा सहज हुनेछ,’ उहाँले भन्नुभयो, ‘केही व्यक्तिको असहयोगले काठमाण्डौ उपत्यका भयावह हुन‌ सक्छ । उपत्यकामा आवत जावतलाई कडाइ गरौँ, म पुनः सङ्घीय सरकारसँग आग्रह गर्छु ।'

ओमबहालमा डेरा गरी बस्ने तीन जनालाई सर्लाही नै फर्काइएको २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले बताउनुभयो । काठमाण्डौ महानगरपालिका १८ का अध्यक्ष नुच्छेकाजी महर्जनले आफ्नो घर बहालमा बस्ने र भर्खरै उपत्यका बाहिरबाट आउने व्यक्तिलाई कम्तीमा आठ दिन क्वरेण्टीनमा बस्न लगाइ आरडीटी परीक्षणपछि मात्रै प्रवेश गर्न र त्यसलाई परिपालना गर्न आग्रह गरेको सूचना सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभयो ।

काठमाण्डौ महानगरपालिका २ का अध्यक्ष राजेन्द्र श्रेष्ठले पनि कामपा वडा नम्बर २ लाजिम्पाटका विभिन्न स्थानमा उपत्यका बाहिरबाट आएकाहरुलाई सचेत गराउँदै सुरक्षित रहन आग्रह गरेको भिडियो नै सार्वजनिक गर्नुभयो ।

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया