चितवन मिल्क उद्योग पुनः संचालनमा आउँदै

 साउन १५, २०७५ मंगलबार १३:२३:४ | राधेश्याम खतिवडा

चितवन – चितवनको  ठिमुरामा रहेको नेपालकै सबैभन्दा ठूलो धुलो दूध कारखाना चितवन मिल्क लिमिटेड पुनः सञ्चालन गरिने भएको छ ।  

भूकम्पका कारण तीन वर्षअघि बन्द भएको ‘चितवन मिल्क उद्योग’ आउँदो असोजबाट सञ्चालनमा आउने भएको हो । उद्योगले गएको पुस महिनाबाट निजी डेरीहरुको बचेको दूध प्रशोधन गर्दै आएको छ । निजी डेरीले संकलन गरेको दूध उद्योगमा ल्याएर पाउडर र बटर बनाएर प्रशोधन गरेबापत उद्योगलाई भाडा तिर्दै आएकाछन् । नेपाल डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले डेरीहरुसँग बचेको दूध उद्योगलाई भाडा तिरेर पाउडर र बटर उत्पादन गर्दै आएको बताउनुभयो । 

आउँदो असोजबाट उद्योगको आफ्नै उत्पादन हुनेगरी उद्योगलाई सञ्चालनमा ल्याउने गरी काम भइरेको उद्योगका अध्यक्ष राजुबाबु श्रेष्ठले बताउनुभयो । विक्रम संवत २०६९ मा उद्योग सञ्चालनमा आएको थियो । सरकारी स्वामित्वको दूग्ध विकास संस्थानको ७ प्रतिशत र बाँकी श्रेष्ठ नेतृत्वको चितवन को–ई समूहको गरी एक अर्ब ४० करोडको लागतमा त्यो उद्योग स्थापना गरिएको थियो । भूकम्पपछि कच्चा दूधको अभावपछि २०७२ भदौ १ गतेबाट उद्योग बन्द भएको थियो । 

उद्योगमा तीन प्रकारको पाउडर दूध उत्पादन गर्न सकिने जानकारी दिँदै उद्योगका व्यवस्थापक दुर्गा पराजुलीले उद्योगले होल मिल्क पाउडर, डेरी ह्वाइटनर र क्रिम मिल्क पाउडर उत्पादन गर्ने जानकारी दिनुभयो । घ्यू, दही, पनिर र पाउच दूध पनि उद्योगले उत्पादन गर्न सक्ने उहाँले बताउनुभयो । 

भारतमा बिक्री नभएको गुणस्तरहिन पाउडर दूध नेपाल आउने गरेका कारण नेपालको गुणस्तरको दूधले बजार पाउन नसकेको उहाँले बताउनुभयो । 

भरतपुर महानगरपालिका– १, ठिमुरामा स्थापना गरिएको यस उद्योगको दैनिक दुई लाख लिटर दूध प्रशोधन गर्ने क्षमताको रहेको छ । निजी डेरीहरुको दूध संकलन गरेर धुलो उत्पादन गर्ने काम भइरहेको चितवन मिल्क प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठले बताउनुभयो । ‘अहिले अरुको दूधलाई धुलो दूध उत्पादन गर्ने काम गरिरहेका छौँ’, उहाँले भन्नुभयो ‘भाडा लिएर धुलो दूध उत्पादन गरिरहेका छौँ, अब छिट्टै आफ्नै उत्पादनको काम गर्छाँै ।’ 

उद्योगले दैनिक १५ टन पाउडर दूध र एकदेखि डेढ लाख लिटरसम्म प्रशोधित दूध उत्पादन गर्ने क्षमता राख्छ । भूकम्पपछि वार्षिक रूपमा ८ करोड रुपैयाँको हाराहारीमा घाटा बेहोर्न थालेपछि उद्योग सञ्चालनमा कठिनाइ भएको बन्द गर्नु परेको श्रेष्ठले बताउनुभयो ।  कच्चा पदार्थको अभाव, अस्वस्थ बजार प्रतिस्पर्धा, विद्युत भार कटौती, बन्द हडताल, निर्वाध रूपमा विदेशी दुग्धजन्य पदार्थ भित्रिएपछि उद्योग सञ्चालन गर्न कठिनाइ परेको उहाँले बताउनुभयो । 

अन्य देशमा लागत मूल्य कम हुने र कमजोर गुणस्तरका दुग्धजन्य पदार्थ बिनारोकटोक नेपाली बजारमा भित्रिएपछि उच्च गुणस्तरको चितवन मिल्कको उत्पादनले प्रतिस्पर्धा गर्न नसक्दा बिक्रीमा समेत समस्या भोग्नु परेको उहाँले बताउनुभयो । 

दैनिक खपत भएर बच्ने दूध किनेर पाउडर बनाउने कारखाना बन्द भएसँगै मिल्क होलिडे समेत बढेको थियो । यो उद्योग बन्द हुँदा डेरी उद्योगले किसानलाई प्रतिलिटर दूधबापत दिने पैसासमेत घटाएका थिए ।

बढी दूध उत्पादन भएका बेलामा सबै दूध किनेर उद्योगले पाउडर दूध बनाउने गर्छ । दूध उत्पादन कम भएका समयमा धुलो दूध बिक्री हुन्छ । कारखाना सञ्चालनमा आएसँगै विक्रम संवत २०६० सालअघि कायम रहेको गम्भीर समस्या मिल्क होलिडे अन्त्य भएको थियो । 

व्यावसायिक रुपमा पशुपालन गरिरहेका किसानहरुको हितका लागि भए पनि चितवन मिल्कलाई नियमित रुपमा सुरु गरी जोगाउन माग गर्दै आएका थिए । चितवन, मकवानपुर, नवलपरासी, रुपन्देहीसम्मका दुग्ध उत्पादनका सक्रिय रहेका किसानहरुले उत्पादन गरेको दूधलाई संकलन गरी उपभोक्ताहरु माझ पु¥याउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका चितवन मिल्कलाई पुनः सञ्चालनमा ल्याउन किसानहरुको माग थियो । 

नेपालमा वार्षिक तीन अर्ब हाराहारीको धुलो दूध आयात हुने गर्दछ । जसको ४५ प्रतिशत खपत दुग्ध विकास संस्थान (डीडीसी), ४५ प्रतिशत निजी डेरी र बाँकी बेकरी, बिस्कुट लगायतका उद्योगले खपत गर्ने गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार, स्वास्थ्यका लागि प्रतिव्यक्ति वार्षिक ९१ लिटर दूध उपभोग गर्नुपछ । नेपालमा प्रतिव्यक्ति वार्षिक दूध खपत सरदर ६४ लीटर मात्र छ।
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया