घरघरमै नमाज पाठ गरेर ईद उल फित्र मनाइँदै

 जेठ १२, २०७७ सोमबार ६:५८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशभरका मुसलमान समुदायले आज विशेष नमाज पाठ गरी ईद उल फित्र मनाउँदैछन् ।

अरबी पात्रो हिजरी संवत् अनुसार दशौँ महिनाको पहिलो दिन विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबाट आशीर्वाद लिने गरिन्छ । मस्जिद, ईदगाह लगायत धार्मिकस्थलमा पाँच जनाभन्दा बढी उपस्थित नहुने भएकाले घरमै परिवारका सदस्य बीच नमाज पाठ गरेर ईद उल फित्र मनाइँदैछ ।

यो पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आफन्तलाई सेवई र खजुर लगायत मीठा खानेकुरा खान दिने चलन छ । नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईद उल फित्र मनाउने कार्यक्रम तय हुने भए पनि यस वर्ष शनिबार बेलुका चन्द्रमा नदेखिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिनुभयो ।

३० औँ दिन चन्द्रमा नदेखिए पनि त्यसपछिको दिनलाई १० औँ महिना मानिन्छ । ठूलाबडासँग आशीर्वाद फोन तथा सामाजिक सञ्जालबाट नै लिन र घरघरमै नमाज पाठ गर्न मुस्लिम आयोगले इस्लाम धर्मावलम्बीलाई अनुरोध गरेको छ ।

मुसलमान धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ कुरआनमा उल्लेख गरिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलिले जानकारी दिनुभयो ।

वैशाख १३ गतेदेखि मुसलमान समुदायको एक महिना लामो व्रत (रोजा) सुरु भएको थियो । एक वर्षभित्र गरेका पाप कटाउन रमजान समेत भनिने यो व्रत गरिने उहाँले बताउनुभयो । एक महिनासम्म दिनभर व्रत गरेर सूर्यास्तको नमाज पाठ गरिन्छ । बिहान सूर्योदयअघि र बेलुकी सूर्यास्तपछि मात्र मुसलमानहरूले नवौँ रमजान महिनामा भोजन गर्छन् ।

ईद उल फित्रको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, विभिन्न राजनीतिक दलका शिर्ष नेताहरुले शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले ईद उल फित्रले नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने बताउनुभएको छ ।

उहाँले कोभिड–१९ को महामारीबाट बच्न सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी नियमको पालना गर्नु सबै नेपालीको कर्तव्य भएको सन्देशमा उल्लेख गर्नुभएको छ । सबैले संयम र धैर्यका साथ लकडाउन पालना गरी घरभित्रै रहेर पर्व मनाउने पनि उहाँले विश्वास व्यक्त गर्नुभएको छ । 

उपराष्ट्रपति नन्दबहादुर पुनले पनि अहिलेको परिस्थितिमा इस्लाम धर्मावलम्बीले घरघरमै बसेर ईद उल फित्र पर्व मनाउने विश्वास व्यक्त गर्नुभएको छ ।  
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउँदै ईद उल फित्र मनाउन आग्रह गर्नुभएको छ ।

उहाँले विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरू राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताको मौलिक पहिचान भएको बताउनुभयो । उहाँले एकता र सहिष्णुताको पूँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।  सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया