ब्राजिलमा काेराेना : अवस्था कति छिटाे बदलियाे, १ देखि २४ हजारभन्दा धेरैकाे मृत्युसम्म

 जेठ १४, २०७७ बुधबार १८:२३:५९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – २६ फेब्रुअरी २०२० सम्म ब्राजिलमा काेराेना भाइरसकाे सङ्क्रमणकाे सङ्क्रमण देखिएकाे थिएन । अर्थात् चीनबाहिर पहिलाे पटक काेभिड–१९ काे सङ्क्रमण देखिएकाे झण्डै एक महिनासम्म पनि ब्राजिलमा कसैमा पनि सङ्क्रमण देखिएकाे थिएन । 

तर फेब्रुअरी २६ मा ब्राजिलकाे सबैभन्दा धेरै जनसङ्ख्या भएकाे शहर साओ पाउलाेमा पहिलाे सङ्क्रमण सार्वजनिक भयाे । उत्तरी इटलीकाे लाम्बार्डी इलाकाकाे यात्रा गरेर फर्किएका एक ६१ वर्षीय वृद्धमा सङ्क्रमण देखिएकाे थियाे । 

लाम्बार्डी इटली त्याे क्षेत्र हाे, जहाँ काेराेना भाइरसले सबैभन्दा धेरै क्षति गर्‍याे, ठूलाे सङ्ख्यामा मानिसहरु सङ्क्रमित हुँदा सबैभन्दा धेरै मृत्यु पनि यहीँ भएकाे थियाे । 

आधिकारिक रुपमा ती ६१ वर्षीय पुरुषलाई नै ब्राजिलमा काेभिड–१९ का पहिलाे सङ्क्रमित मानिँदै आएकाे थियाे तर विशेषज्ञहरुले भने 'भाइरस याेभन्दा निकै पहिले ब्राजिलमा प्रवेश गरिसकेकाे हुनुपर्ने' राय दिएका छन् । 

अप्रिल पहिलो हप्तासम्म ब्राजिलमा आधिकारिक रुपमा ज्यान गुमाउनेकाे सङ्ख्या सार्वजनिक भएकाे थिएन तर त्यसपछि मानाैँ एउटा विस्फाेट भयाे र अहिलेसम्म ब्राजिलमा ज्यान गुमाउनेकाे सङ्ख्या २४ हजार पाँच सय नाघिसकेकाे छ । 

गएकाे ११ अप्रिलमा दक्षिणी गाेलार्धमा रहेकाे देशमध्ये भाइरसकाे कारण ज्यान गुमाउनेकाे सङ्ख्या एक हजारभन्दा धेरै रहेकाे देश ब्राजिल भएकाे थियाे । 

त्याे बेलासम्म 'गर्मी देशमा युराेपकाे चिसाे देशमा देखिएजति काेराेनाले असर नगर्ने' सिद्धान्त पनि चलिरहेकाे थियाे । 

१७ मे महिनासम्म ब्राजिलमा काेराेना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या स्पेन र इटलीमा भन्दा धेरै भएकाे थियाे र अहिले ब्राजिल सङ्क्रमणकाे हिसाबले विश्वकाे दाेस्राे देश बनेकाे छ । 

अमेरिका, स्पेन, फ्रान्स, इटली र बेलायतमा अहिले पनि काेभिड–१९ बाट ज्यान गुमाउनेकाे सङ्ख्या ब्राजिलमा भन्दा धेरै छ । तर वाशिङ्टन विश्वविद्यालयले एक अध्ययनपछि चेतावनी दिँदै ब्राजिलमा ज्यान गुमाउनेकाे सङ्ख्या पाँच गुणा बढेर अगस्ट महिनासम्म एक लाख २५ हजार पुग्न सक्ने बताएकाे छ । 

केही दिनअघि मात्र अमेरिकाले ब्राजिल भएर आउने कुनै पनि यात्रुलाई आफ्नाे देशमा प्रवेश नदिने बताएकाे थियाे । 

तर ब्राजिलका राष्ट्रपति जायर बाेलसेनाराेले फेब्रुअरीदेखि अप्रिलसम्म काेराेना भाइरसकाे सङ्क्रमणकाे तुलना 'सामान्य रुघाखाेकी' सँग गरिरहे र 'सञ्चारमाध्यमले देशमा भयकाे वातावरण सिर्जना गरेकाे र याे सङ्क्रमणबाट यति धेरै डराउन नपर्ने' दाबी गरिरहे ।  

उनले याे पनि भनेका थिए, 'अर्थव्यवस्थालाई जीवन्त राख्नु निकै जरुरी छ । यसर्थ वृद्धवृद्ध घरमै रहन र बाँकी नागरिकले काम गर्नुपर्ने छ ।' 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया