भारतीय राजदूतावासले बनाउने जिम्मा लिएको १० विद्यालय पुनर्निर्माण सुरु नै भएन

 साउन १६, २०७५ बुधबार १३:४१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ –भूकम्पले ध्वस्त भएका जिल्लाका ठूला १० विद्यालय भारतीय राजदूतावासले निर्माणको जिम्मा लिएर पनि निर्माण सुरु नभएपछि विद्यार्थीहरु ३ वर्षदेखि टहरामा बसेर पढ्न बाध्य छन् । 

पुनर्निर्माण प्राधिकरण र विभिन्न संघसंस्थाहरुले विद्यालय निर्माण गरिससकेको तर भारतीय राजदूतावासले भने जिम्मा लिएपछि जिल्लामा फर्केर समेत नआएपछि ठूला १० विद्यालयको पुनर्निर्माणको काम अलपत्र परेको हो । 

भारतीय राजदूतावासले सालबास मावि चैनपुर, रानीपौवा मावि सल्यानटार, त्रिपुरासुन्दरी मावि खरी, मिन्दुका मावि नलाङ, ठूलोचौर मावि मैदी, बराहकालिका मावि ढोला, सल्यानकोट मावि सल्यानकोट, वृचेत मावि दार्खा, महेन्द्रोदय मावि गजुरी र महाकाली मावि कुम्पुर एक वर्ष भित्र निर्माण गर्नेगरि ०७४ को सुरुवातमै जिम्मा लिएको थियो । 

विभिन्न संघ संस्था र पुनर्निर्माण गर्नका लागि जिल्लाका ठूला विद्यालयहरु जिम्मा लिएपछि भारतीय राजदूतावासबाट कोही नआएको जिल्लाको अन्य निकायले समेत भारतीय राजदूतावास जिम्मा लिएको ठाउँमा काम नगर्ने बताएपछि विद्यार्थीहरु टहरामा बसेर पढ्न बाध्य भएको मिन्दुका मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वरी अर्यालले बताउनुभयो । 

भारतीय राजदूतावासले निर्माण जिम्मा लिएपछि कुनै संघसस्था र गाउँपालिकाले समेत विद्यालयमा कुनै सहयोग नगरेका कारण विद्यार्थीहरुको पठनपाठनमा समेत प्रभाव परेको र धेरै विद्यालय पुनर्निर्माण भएर पक्की भवनमा पठन पाठन गरेपछि आफूहरु समस्यामा परेको भारतीय राजदूतावासले जिम्मा लिएका विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले बताएका छन् । 

भूकम्पका कारण धादिङमा ४ सय ६५ विद्यालयका ३ हजार ७ सय ७५ कक्षाकोठा पूर्ण रुपमा ध्वस्त भएकोमा २ हजार २ सय ३५ कक्षाकोठा निर्माण सम्पन्न भएको छ, ९ सय ३१ कक्षाकोठा निर्माण जारी छ भने ५ सय ६० कक्षाकोठा निर्माण सुरु नभएको भूकम्पीय पुनर्निर्माण शिक्षा सम्बन्धी जिल्ला कार्यान्वयन इकाइका प्रमुख नबराज खतिवडाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया