सीमा नाका असार १६ गतेसम्म बन्द, कडाइ गर्न थप प्रहरी परिचालन गरिने

 जेठ १७, २०७७ शनिबार २१:४७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले अन्तर्राष्ट्रिय सीमा नाका असार १६ गतेसम्म बन्द गर्ने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले लकडाउन ३२ गतेसम्म लम्बाउने र सीमा नाका १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो । त्यस्तै हवाई उडान असार १३ गतेसम्म बन्द हुनेछन् । 

सरकारले सीमा नाकामा थप कडाइ गर्ने भएको छ । सीमाबाट जथाभाबी नागरिक आउँदा कोरोनाको जोखिम झनै बढेकाले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार स्वास्थ्य जाँच गरेर मात्रै नेपाल भित्रन दिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।

सीमा क्षेत्रबाट अवैध रुपमा आवत जावत भइरहेकाले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सङ्ख्या थप्ने र नेपाल प्रहरीलाई पनि परिचालन गरिने मन्त्री खतिवडाले जानकारी दिनुभयो ।

कोरोनाको प्रभाव बढी देखिएका ठाउँमा लकडाउन थप कडाइ गर्ने र सुरक्षा निकाय परिचालनको जिम्मा गृह मन्त्रालयलाई दिइएको पनि उहाँले बताउनुभयो ।

तर लकडाउनको मोडालिटीको बारेमा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गृहकार्य गरेर टुङ्गो लगाउने मन्त्री खतिवडाले जानकारी दिनुभयो । 

शनिबार नै बसेको सुरक्षा परिषद्को बैठकले पनि कोरोना रोकथामको लागि सुुरक्षाकर्मीको उपस्थिति थप बलियो बनाउने निधो गरेको उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया