नेपालगञ्जमा मासिँदै छहारी : ३ वर्षमा १४ सय बढी रुख ढालियो

 जेठ १४, २०७५ सोमबार १०:३७:१७ | गोविन्द शर्मा
unn.prixa.net

नेपालगञ्जमा भौतिक निर्माणसँगै रुख ढाल्ने क्रम पनि बढेको छ । सडक ढललगायत निर्माणका क्रममा रुख ढालिएको तर ३ वर्षसम्म विरुवा नरोपिएकोमा नगरवासी आक्रोशित भएका छन् । 

झण्डै तीन वर्षदेखि निर्माण कार्यले गति लिएसँगै वर्षौँ पुराना रुखहरु धमाधम काट्ने क्रम पनि बढेको तर विरुवा नरोपिएपछि नेपालकै सबैभन्दा बढी गर्मी हुने नेपालगञ्जका नगरबासी आक्रोशित भएका हुन् ।

एशियाली विकास बैंकको सहयोगमा नेपालगञ्जमा चार लेनको सडक निर्माण सम्पन्न भयो । त्यस्तै, ढल निकाससँगै भित्री सडकको निर्माण भइरहेको छ ।

चार लेन सडक निर्माण गर्दा सडक किनारमा रहेका अशोक, गोल, मोहर, जामुन तथा स्थानीय बासिन्दाले रोपेर संरक्षण गरेर हुर्काएका वर, पिपलसहित १ हजार ४ सय ३७ वटा रुख काटिएका छन् । 
तर तीन वर्षसम्म पनि उपमहानगरपालिकाले बिरुवा रोपेको छैन । हरियाली नहुँदा कम तापक्रममा पनि धेरै गर्मी महसुस हुन थालेको नेपालगञ्जका बासिन्दाको अनुभव छ । 

पछिल्लो पटक नेपालगञ्जको धम्बोझीमा सडक र नाली निर्माण गरिदा सिमलको रुख ढालिएपछि सामाजिक सञ्जालमा यसको चर्को आलोचना भएको छ । सामाजिक अभियन्ता हेमन्त काफ्लेले मानवीय स्वास्थ्यका लागि रुखहरुको संरक्षण गर्दै विकास गर्नुपर्ने बताउनुभयो ।

नेपालगञ्जमा नागरिक समाजको अगुवाईमा हरित नेपालगञ्ज अभियान सञ्चालन भईरहेको छ भने नेपालगञ्ज उपमहानगरपालिका विकासको नाममा बर्षौदेखि  हुर्काइएका रुखहरु ढालिरहेको छ ।

रुखहरु ढालिएपछि चर्को गर्मीमा शितल छहारी बस्ने ठाउँ अभाव भएको कारकादौंका रिक्साचालक मङ्गल थारुले बताउनुभयो । ‘पहिले सुर्खेतरोडमै रुखको छहारी हुन्थ्यो, उहाँले भन्नुभयो,– अहिले रुख खोज्न टाढा गाउँमा जानुपर्ने अवस्था आएको छ ।’

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले निर्माण कार्य गरिदा बीच सडक र नालीमा परेका रुखहरु काट्नुपर्ने बाध्यता भएको बताउनुभयो । उहाँले यो वर्षायामदेखि नै यसअघि एउटा रुख काटेको ठाउँमा १० वटा रुख रोप्ने तयारी गरिएको दावी गर्नुभयो । 

 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया