डिजिटल संवादमा सिकाइका ५ विकल्पबारे छलफल

 जेठ २५, २०७७ आइतबार १७:२८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असार १ गतेदेखि वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ अगाडि बढाउने तयारी गरेको छ । त्यसको लागि मन्त्रालयले सहजीकरण निर्देशिका २०७७ समेत जारी गरेको छ । सिकाइ सहजीकरण निर्देशिका जारी भएपछि सरकार, पालिका र विद्यालयहरुको सक्रियता बढेको छ । 

शिक्षा विभागका महानिर्देशक डाक्टर तुलसीप्रसाद थपलियाले विभिन्न निकाय, विज्ञको छलफलबाट निर्देशिका आएको भन्दै अब यसलाई लागू गर्न पालिका र विद्यालयहरूले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ । अहिलेको अवस्थालाई हेरेर विभिन्न पाँच प्रकारका माध्यमबाट सिकाइ निरन्तर गर्ने प्रयास सरकारले गरेको थपलियाले बताउनुभयो । 

त्यस्तै विज्ञहरुले कोरोना संक्रमण जोखिमको यो अवस्थामा सिकाइलाई प्रभावकारी बनाउन पालिकाको भूमिका नै सबैभन्दा महत्त्वपूर्ण हुने बताएका छन् । लकडाउनको कारण विद्यालय गएर अध्ययन गर्ने झण्डै ८० लाख विद्यार्थीहरू प्रभावित भएका छन् । शहरी क्षेत्र तथा पहुँच भएका केही निजी विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गरिरहेको भए पनि धेरैजसो सामुदायिक विद्यालयको पठनपाठन ठप्प छ । 

कोभिड–१९ वा यस्तै प्रकारको विपद्, महामारीजस्ता कारणले नियमित पठनपाठन गर्न कठिन भएको वा हुन सक्ने अवस्थामा रेडियो, एफएम, टेलिभिजन, अनलाइन, अफलाइन, परियोजना पाठहरू, स्वअध्ययन, दूर तथा खुला शिक्षालगायतका वैकल्पिक माध्यम वा पद्धतिबाट अध्ययन, अध्यापनलाई निरन्तरता दिने विधि र प्रक्रियाबाट वैकल्पिक सिकाइ अवलम्बन गर्न सकिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको निर्देशिकामा उल्लेख छ । 

डिजिटल संवादमा सिकाइ समूहका सुदर्शन घिमिरेले विद्यार्थीलाई रुची अनुसार सिकाइअघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षकमार्फत् अभिभावकलाई बढी सक्रिय गराएर सिकाइ प्रक्रियाअघि बढाउनुपर्ने सुझाव दिनुभएको छ । 

शिक्षक सङ्गठनको प्रश्न : डिजिटल कन्टेन्ट र कनेक्टिभिटी खै ? 

राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष लक्ष्मण शर्माले अहिलेको अवस्थामा पनि शिक्षकहरू विद्यार्थीको सिकाइलाई निरन्तरता दिन तयार रहेको बताउनुभएको छ । लकडाउन भनेर शिक्षकहरु नसुतेको भन्दै उहाँले आवश्यक पर्दा जस्तो अवस्थामा पनि सिकाइ अगाडि बढाउन तयार रहेको बताउनुभयो । 

उहाँको प्रश्न छ– हामीसँग सिकाइ गर्न उपयुक्त डिजिटल कन्टेन्ट र कनेक्टिभिटी खै ? शर्माले सरकारले सरकारी विद्यालयमा क्वरेण्टीन बनाउने तर निजी विद्यालय चाहिँ खुला गर्न दिएमा दुर्घटना निम्तने भन्दै प्रविधि र डिजिटल कन्टेन्टको विस्तारमा सहकार्य गर्न आग्रह गनुभयो । 

बेलवारी नगरपालिका मोरङका शिक्षा शाखा प्रमुख भूपेन्द्रप्रसाद कोइरालाले वैकल्पिक माध्यमबाट आफूहरु सिकाइअघि बढाउन लागिपरेको बताउनुभयो । उहाँले प्रविधिको पहुँच भएकाहरूलाई डिजिटल कन्टेन्ट उपलब्ध गराउने र पहुँचबाहिर रहेकाहरूलाई पुस्तक, रेडियो र अभिभावकमार्फत पनि विद्यार्थीको सिकाइको अधिकार सुनिश्चित गर्ने दाबी गर्नुभयो । 

पूर्वमन्त्री गणेश शाहले अब शिक्षामा रूपान्तरण आवश्यक रहेको भन्दै यसलाई व्यावहारिक बनाउँदै जानुपर्नेमा जोड दिनुभएको छ । सरकारले लगानी बढाउँदै विद्यार्थीलाई कम शुल्कमा प्रविधिमैत्री गुणस्तरीय शिक्षा दिनुपर्नेमा शाहको जोड छ । निर्देशिका अनुसार सिकाइका विभिन्न पाँच विकल्प शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ मा अवस्था हेरी विभिन्न पाँच प्रकारबाट सिकाइ प्रक्रियालाई अघि बढाउने भनिएको छ । 

क. सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी रहेको समूहका लागि विद्यार्थीहरूलाई चालु शैक्षिक सत्रमा अध्ययन गर्ने कक्षा यकिन गरी अभिलेख राखी पाठ्यपुस्तक उपलब्ध गराउने । 

ख. रेडियो, एफएममा पहुँच भएका विद्यार्थी रहेको समूहका लागि पुस्तकसँगै केन्द्रले तयार पारेका सामग्रीहरू केन्द्रीय रेडियोबाट प्रसारण गर्ने र यी सामग्रीहरू एफएम रेडियो र स्थानीय एफएम रेडियोहरूलाई निःशुल्क उपलब्ध गराउने र विद्यार्थीले यही माध्यमबाट सिक्ने । 

ग. टेलिभिजनमा पहुँच भएका विद्यार्थी रहेको समूहका लागि पुस्तकसँगै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विकास तथा संयोजन गरेका कक्षागत सिकाइ सामग्रीहरू विभिन्न केन्द्रीय तथा स्थानीय टेलिभिजनबाट प्रसारण गर्ने र त्यही समय अनुसार विद्यार्थीले सिकाइ गर्ने । 

घ. कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका विद्यार्थी रहेको समूहका लागि पुस्तकसँगै डिजिटल प्रणालीमा तयार गरिएको सामग्रीहरू अफलाइन मोडमा (सीडी वा पेन ड्राइभ, हार्डडिस्क आदि) विद्यालय र स्थानीय तहमार्फत विद्यार्थीलाई उपलब्ध गराउने र विद्यार्थीहरूले सिक्ने । 

ङ. इन्टरनेट तथा सूचना सञ्चार प्रविधिको साधनमा पहुँच भएका विद्यार्थी रहेको समूहका लागि पुस्तकसँगै केन्द्रीय र प्रदेशगत रूपमा डिजिटल कन्टेन्ट तथा सामग्रीहरूको तयारी गर्ने र अनलाइन माध्यममा उपलब्ध गराउने र त्यही अनुसार विद्यार्थीहरूले अन्तक्रियात्मक रूपमा सिक्न सक्ने । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया