सडक बजारमा लकडाउन हटेजस्तै, सरकार चाहिँ अझै गृहकार्यमा

 जेठ २७, २०७७ मंगलबार ११:२८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले पछिल्लोपटक थपेको लकडाउनको अवधि सकिन अझै पाँच दिन बाँकी छ । तर सडक र बजारमा लकडाउन भएजस्तै देखिंदैन । चोकचोकमा जाम नै हुने गरी निजी गाडी निर्वाध चलिरहेका छन् । बजार खुलेका छन् ।

सडकगल्लीमा मान्छेको चहलपहल बढेको छ । मालपोत लगायतका सरकारी कार्यालय पनि खुलेका छन् । सार्वजनिक गाडी र शिक्षण संस्थाबाहेक अरु क्षेत्रमा लकडाउन भएजस्तै लाग्दैन । 

तर सरकारले जेठ मसान्तसम्म लकडाउन गरेको छ । यसबीचमा लकडाउनको नयाँ मोडालिटीबारेको बहस भैरहेको छ, निर्णय भैसकेको छैन । नयाँ मोडालिटीको स्वरुप सार्वजनिक गर्न सरकार असक्षम हुँदा नागरिकबाट लकडाउनको अवज्ञा हुन थालेको हो । 

कोरोनाको संक्रमणदर तीब्र गतिमा बढ्दै जाँदा थप सजगता अपनाउनुपर्ने हो । तर, पसल, उद्योग व्यवसायहरु खुल्न थालेका छन् । मानिसको चहलपहल बढेको बढ्यै छ । सरकार भने लकडाउनको मोडालिटी कस्तो बनाउने भन्नेमै सोचेको सोच्यै छ  । अझै पनि गृहकार्यमै छ । केही दिनमै नयाँ मोडालिटी सार्वजनिक गर्ने भन्न छाडेको छैन ।

लकडाउनको मोडालिटी कस्तो बनाउने भन्ने जिम्मेवारी उच्चस्तरीय समितिलाई दिईएको छ । समितिले भने ठोस खाका ल्याउन सकिरहेको छैन । 
सम्भावित सङ्क्रमणको जोखिम कम गर्दै सन्तुलन खोज्नुपर्ने अवस्था रहेकोले लकडाउनको मोडालिटी परिवर्तनबारे छलफल गरिरहेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका सचिव नारायणप्रसाद बिडारीले बताउनुभएको छ ।

‘स्वास्थ्य सुरक्षाका विधी अपनाउँदै अत्यावश्यक उपभोग्य बस्तु र सेवाको उत्पादन, बिक्री वितरण र उद्योग व्यवसाय सञ्चालन गर्नेगरी मोडालिटी बनाउँदैछौँ’ बिडारीले उज्यालोसँग भन्नुभयो, ‘सरकारले यसबारे गृहकार्य गरिरहेको छ, तत्कालीन आवश्यकताबारे पनि हामी छलफलमै छौँ ।’

आवश्यकताबारे थप छलफल गरेर सङ्क्रमण नबढ्ने गरी गतिविधि सहज बनाउनेतिर आफूहरु लागेको उहाँको भनाई छ ।

उच्चस्तरीय समितिले लकडाउनको मोडालिटीलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको भन्दै उहाँले छिट्टै यसबारे निर्णय हुने र सार्वजनिक गरिने बताउनुभएको छ ।

सरकारले लकडाउन खुकुलो बनाउने निर्णय नगरे पनि केही दिनदेखि काठमाण्डौं उपत्यकासहित देशका धेरै ठाउँमा लकडाउनको उल्लंघन भएको छ । 
एकैपटक धेरैले उल्लंघन गर्दा सडकमा खटिएका प्रहरीलाई पनि नियन्त्रण गर्न हम्मेहम्मे परेको छ । सुरक्षाका लागि खटिएका एक प्रहरी भन्छन्, ‘कति जनालाई नियन्त्रण गर्नु, गरिसाध्ये भए पो !’ 

बढे उपत्यका भित्रने र बाहिरिने

लकडाउनको सुरुका दिनदेखि नै काठमाण्डौका मुख्य चारसहित अरु नाकामा कडाई छ । तर नागढुंगासहित अरु नाकाबाट दैनिक पाँच हजार जनाको हाराहारीमा मानिस भित्रने गरेका छन् भने दुई हजारको हाराहारीमा गाडी । 

पछिल्लो २४ घण्टामा विभिन्न नाकाबाट पाँच हजार एक सय १८ जना मानिस भित्रिएका छन् भने दुई हजार ८ सय ९७ वटा गाडी उपत्यका प्रवेश गरेका छन् । 
महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो एक हप्ता यता गाडी र यात्रुको ओहोरदोहोर बढेको जनाएको  छ । 

महाशाखाका अनुसार लकडाउनको सुरुका दिनमा सय, दुई सय जना काठमाण्डौ उपत्यका भित्रिए पनि उपत्यकामा कोरोनाको सङ्क्रमण देखिएपछि ओहोरदोहोर ठप्प जस्तै थियो  । यो महिनासँगै गाडीको ओहोरदोहोर बढ्न थाल्यो । जेठको सुरुमा दैनिक दुई, तीन हजारभन्दा धेरै गाडी भित्रिने गरेकोमा अहिले यो संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ ।  

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार नागरिकले लकडाउन उल्लंघन गरेको आधिकारिक जानकारी नभए पनि अहिले होल्ड हुने गाडीको संख्या बढेको छ । उहाँका अनुसार मंगलबार बिहान ९ बजेसम्म साढे १५ सय वटा गाडीलाई होल्ड गरिएको छ । पहिला पहिला दिनमा एक दुई सय वटा गाडी होल्डमा हुन्थे ।

गृह मन्त्रालय भन्छ : लकडाउन खुकुलो छैन, अत्यावश्यक सेवा खुलेकाले चाप बढेको हो 

नागरिकले धमाधम लकडाउनको उल्लंघन गरे पनि गृह मन्त्रालयले यसबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिएको छ । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले अत्यावश्यक सेवा सञ्चालन भएको र ढुवानीका गाडीसँगै निर्माण सामग्री ओसारपसार गर्ने  गाडीलाई कुनै रोकतोक नभएकाले गाडीको चाप बढेको बताउनुभयो । 

उहाँ भन्नुहुन्छ, ‘आर्थिक गतिविधि सुरु भएका छन्, उद्योग कलकारखाना खुलेका छन्, खाद्यान्नका गाडी भित्रिएका छन्, सरकारी कार्यालय खुलेका छन् । यस्तो बेला केही चहलपहल र गाडीको संख्या बढ्नु स्वभाविक नै हो नि ।’

सरकारका अनुसार कोरोनाको जोखिम बढे पछि सुरुका केही दिनमा व्यवसायी आफैँले  पनि खाद्यान्न, फलफुल, औषधि लगायतका पसल बन्द गरेका थिए । तर लकडाउन लम्बिएसँगै बिस्तारै उनीहरुले अहिले पसल खोल्न थालेका छन् । तर फेन्सी र कस्मेटिक पसलमा भने खोल्न पाईने छैन ।

सरकारले असार महिनादेखि भने लकडाउनको मोडालिटी फेर्दै खुकुलो बनाउने तयारी गरेको छ । 

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया