प्रतिनिधिसभा र राष्ट्रियसभामा आज विषयगत समिति गठन गरिने

 साउन १७, २०७५ बिहिबार ९:१२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रतिनिधिसभा र राष्ट्रियसभामा आज विषयगत समिति गठनको तयारी छ । बिहान साढे ११ बजेपछि बस्ने राष्ट्रियसभाको बैठकमा विषयगत समिति गठनको तयारी गरिएको राष्ट्रियसभा सचिवालयले जनाएको छ । 

गएको जेठ २७ गते राष्ट्रियसभा नियमावली पारित भएपछि समिति गठनको लागि नाम दिन सबै दललाई आग्रह गरे पनि नेपाली कांग्रेसले नाम नदिँदा समिति गठनमा ढिलाई भएको सचिवालयले जनाएको छ । 

यस्तै दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा पनि विषयगत समिति गठनको तयारी छ । आजको बैठकमा सभामुख कृष्णबहादुर महराले विषयगत समितिमा रहने सदस्यको नाम मनोनयनको लागि प्रस्ताव गर्ने कार्यसूची छ । 

प्रतिनिधिसभाको बैठकमा बिमा विधेयकमाथि छलफल तथा अन्तराष्ट्रिय आतंकवाद, अन्तरदेशिय संगठित अपराध र अवैध लागू औषध कारोबार विरुद्ध सहयोगसम्बन्धी बिमस्टेक महासन्धी प्रस्तुत गर्ने कार्यसूची छ । यसअघि हिजोको दुवै सदनको बैठक पूर्वसांसद कृष्णकुमार जोशीको निधनमा शोक प्रस्ताव पारित गरेर स्थगित भएको थियो ।  
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया