नेपाल र विश्व बैंकबीच ५४ अर्ब रुपैयाँ बराबरकाे आयाेजनामा सम्झौता

 साउन २, २०७७ शुक्रबार १४:३८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल सरकार र विश्व बैंकबीच ५४ अर्ब रुपैयाँ बराबरको सडक सहयोग आयोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । 

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा ४५ करोड अमेरिकी डलर (झण्डै ५४ अर्ब रुपैयाँ) बराबरको आर्थिक सहयोग रहेको सडक सहयोग आयोजनामा हस्ताक्षर भएको छ ।

अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले नेपाल सरकारको तर्फबाट अर्थ सचिव शिशिरकुमार ढुङ्गाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसले आयोजनाको सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

विश्व बैंकले कोभिड-१९ पछि नेपालमा आर्थिक गतिविधिलाई बढावा दिन सडक सहयोग आयोजना अन्तर्गत यो रकम सहयोग गरेको हो । आयोजनाले यातायात पूर्वाधारको क्षमता र सुरक्षा सुधारलगायत सीमा पार व्यापारको दक्षतामा सुधार गर्नकाे लागि र रणनीतिक सडक सञ्जाल व्यवस्थापन क्षमताको सुदृढीकरणका लागि रकम खर्च गर्नेछ ।

हस्ताक्षर समारोहमा अर्थ मन्त्री खतिवडाले आयोजनाले सीमा पार बजारलगायत सडक सञ्जालको विस्तार र राष्ट्रिय एकीकरणलाई बढावा दिँदै कोभिड-१९ पछिको आर्थिक पुनरुत्थानमा सघाउने बताउनुभयो । 

उहाँले नेपालमा आर्थिक वृद्धि गर्न, राष्ट्रिय र क्षेत्रीय आर्थिक एकीकरणलाई तीव्रता दिन र दिगो विकासका लक्ष्यहरुलाई प्राप्त गर्न आयोजना सहयोगी हुने बताउनुभयो । विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसले कोभिड-१९ सङ्कटका बावजुद आर्थिक पुनरुत्थान गर्न नेपाल सरकारको प्रयासलाई आयोजनाले सघाउने बताउनुभयो ।

उहाँले रणनीतिक सडक सञ्जालको सुरक्षा तथा उत्पादनशील सुनिश्चितता तथा क्षेत्रीय व्यापार र सम्पर्क सञ्जालको सहजीकरण गर्न तथा रोजगारका अवसरहरुको सिर्जना गर्न आयोजनाले सहजीकरण गर्ने बताउनुभयो ।

कार्यक्रममा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गानाले आयोजनाले मुख्य यातायात मार्ग र सीमा पार बिन्दुमार्फत सामान ढुवानी गर्ने समय र लागत घटाउन सहयोग पुर्‍याउने बताउनुभयो । 

आयोजनाले राष्ट्रिय सडक सुरक्षा परिषद् तथा सडक विभागको संस्थागत सुदृढीकरणलगायत रणनीतिक सडक सञ्जालभित्रका उच्च चाप रहेका अन्य सडकको आवधिक मर्मत गर्नमा समेत सहयोग गर्ने छ । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया