जाँडरक्सी खाए/नखाएको जाँच फेरि सुरु, अस्पताल लगेर परीक्षण गरिने

 साउन ७, २०७७ बुधबार १८:१९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चैत ११ गतेदेखि सरकारले घोषणा गरेको लकडाउन बुधबारदेखि हटेसँगै सार्वजनिक तथा निजी गाडीमाथि लगाइएको रोक पूर्णरुपमा हटेको छ । सबै प्रकारका गाडी सञ्चानलमा आएपछि ट्राफिक प्रहरीले लेन अनुशासन र जाँडरक्सी खाए/नखाएको जाँच गर्न सुरु गरेको छ ।

यसअघि कोरोना भाइरसको महामारी नियन्त्रणका लागि लकडाउन लाग" भएसँगै जाँडरक्सी खाए/नखाएको जाँच रोकिएको थियो । तत्कालका लागि शङ्का लागेका व्यक्तिलाई जाँडरक्सी खाए/नखाएको जाँच गराउन अस्पताल लगिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी (वरिष्ठ प्रहरी उपरीक्षक) भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

मेडिकल परीक्षणबाट जाँडरक्सी खाएको देखिएमा जरिबानाकाे लागि चिट काट्ने र कक्षा लिनकाे लागि भने रेकर्ड राखेर अवस्था सामान्य भएपछि बोलाइने उहाँले जानकारी दिनुभयो । ’चलाउने तरिकालाई हेरी, सर्वसाधारणबाट सूचना लिइ, व्यवहार हेरी, जाँडरक्सी खाए/नखाएको थाहा पाउन सकिन्छ’, उहाँले भन्नुभयो, ’शङ्का लागेमा हामी अस्पताल लगेर जाँच गराउँछौँ । ’ काठमाण्डौ उपत्यकामा रातिको समयमा ३९ ठाँउमा ट्राफिक प्रहरीकाे ’चेक प्वाइन्ट’ राखिने छ ।

यसअघि एक सय २० दिनको लकडाउन अवधिमा पनि ट्राफिक प्रहरीले जाँडरक्सी खाएर गाडी चलाउने ४४ जनालाई कारबाही गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार लकडाउनमा भएका सवारी दुर्घटनाको अनुसन्धानका क्रममा चालकले रक्सी खाएर गाडी चलाएको, पासको दुरुपयोग गरी जाँडरक्सी खाएर समूहमा गाडीमा यात्रा गरेको लगायतका घटनामा ४४ जनालाई कारबाही गरिएको हो ।

यसैबीच लकडाउन खुलेसँगै गाडीको चाप बढेकोले ट्राफिक प्रहरीले अब क्रमैसँग नियमित गाडी जाँच फेरि सुरु गर्ने तयारी गरिरहेको छ । सरकारले सार्वजनिक सवारीमा ५० प्रतिशतमात्र यात्रु राख्न पाउने व्यवस्था गरेको छ भने गाडीमा कोरोना सङ्क्रमणबाट जोगिनको लागि मास्क, स्यानिटाइजरलगायत सुरक्षाका मापदण्डको व्यवस्था हुनुपर्ने जनाएको छ ।

ट्राफिक प्रहरीले अब सडकमा गुडेका गाडीले मापदण्ड पूरा गरेका छन् कि छैन भनेर जाँचमा कडाइ गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख  एसएसपी ढकालले बताउनुभयो । उहाँका अनुसार सरकारले तोकेको मापदण्ड र ट्राफिक नियम पालना नगर्नेलाई जरिबाना लाग्नेछ । ट्राफिक प्रहरीले दिने सचेतना कक्षा भने सुरु भएको छैन । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया