सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – रञ्जन कोइराला हत्यारा हो । यो फैसला भइसकेको छ । नेपालको कानुनले अपराधीलाई उन्मुक्ति दिँदैन । त्यसो भए मेरो छोरी गीताको हत्यारा किन छुटे त ?
यो मेरो मात्र प्रश्न हैन, सारा नेपालीको प्रश्न हो । कि त न्याय मरेको देश भन्नु पर्यो, नभए अपराधीलाई पूरै सजाय हुनुपर्याे ।
दुई छोराहरु भएको श्रीमतीलाई अर्को महिलाको उक्साहटमा मिलेर मार्ने अनि लासलाई बेपत्ता पार्न काठमाण्डौबाट मकवानपुर लगेर जङ्गलमा जलाउने । यस्तो अपराधीमा जन्मकैद फैसला भएकोलाई सजाय घटाउने ?
नेपालमा के साँच्चै न्याय मरेकै हो त ? सर्वस्वसहित जन्मकैदको सजाय भोग्नुपर्ने मान्छेलाई बालबच्चा हेर्नुपर्याे भनेर साढे आठ वर्षमै छोड्ने कस्तो नियम हो ? जबकि मेरा दुई जना नाति नै आफै गरिखाने भइसकेका छन् ।
सर्वस्वसहित जन्मकैदको सजाय पाएर थुनामा बसेका हत्यारा यति सजिलै थुनामुक्त हुन्छन् भने अरु घटनाका दोषीलाई कारबाही हुन्छ होला ? अब कसरी भन्ने सर्वसाधारणले न्याय पाइरहेका छन् ? यहाँ न्याय कसैले पाएकै छैन । जो निमुखा छन्, ती अन्यायमा परेका छन् ।
जसको शक्ति छ, जोसँग पैसा छ, जो बलियो छ, उसले जस्तोसुकै वा जतिसुकै अपराध गरे पनि केही हुँदैन । त्यही प्रस्ट भएन र ?
न्याय भन्ने नै यो देशमा रहने र छैन पनि । सर्वोच्च अदालतले नै यस्तो फैसला गर्छ भने नागरिकले के न्याय पाउने आश गर्नु ? न्याय पाउने आशा गर्ने ठाउँ पनि छैन ।
योभन्दा ठूलो अपराध के हुन सक्छ ? मैले जिल्ला अदालतमा आफ्नो राय व्यक्त गर्दा भनेको थिएँ, यो मान्छेलाई सर्वस्वसहित जन्मकैदको भन्दा पनि त्योभन्दा ठूलो सजाय के हुन्छ ? त्यही दिनुपर्छ । किनकि उसलाई त्यति सजाय दिँदा पनि कम हुन्छ ।
२०७१ सालमा काठमाण्डौ जिल्ला अदालत र पाटन उच्च अदालतले जन्मकैदको सजायको फैसला गरिसकेको बेला, सम्माननीय पदमा बस्नुभएको प्रधानन्यायाधीशबाट यस्तो फैसला भयो । योभन्दा अन्यायपूर्ण फैसला के हुन सक्छ ?
पहिले पनि छोरीले 'श्रीमानले आफूमाथि हिंसा गर्याे, न्याय पाउँ' भन्दै ठाउँ-ठाउँमा न्याय मागेकै हो । प्रधानमन्त्री कार्यालयदेखि महिला सञ्जालमा पनि गीता ढकालले उजुरी दिएको छ । तपाईँ अहिले पनि हेर्न सक्नुहुन्छ ।
ऊ (रञ्जन कोइराला) जागिरे, छोरी घरमै । उसको बाहिर अर्कै केटीसँग उठबस चल्दो रहेछ । गीतासँग दिनहुँ झगडा पर्न थाल्यो । २०६६/०६७ पछि त ऊ घरमा नै आउन छोड्यो ।
तर बेला बेलामा आएर पिट्ने काम चाहिँ गरिरह्यो । त्यसपछिका हरेक दिन गृह मन्त्रालय, महिला सेल, महिला अधिकार आयोग, सशस्त्र प्रहरी, मानव अधिकार आयोग महिला कानुन मञ्चमा धाउँदै बिते ।
सबै ठाउँमा निवेदन दिएको हो तर कतै सुनुवाइ भएन । त्यही बीचमा महिला आयोगले श्रीमानलाई बोलाएर सोधपुछ गरेपछि अबदेखि हामी मिलेर बस्छौँ भन्दै कुरा मिलायो ।
तर २०६८ सालमा छोरीको हत्या भयो । सम्बन्धित निकायले समयमै ध्यान पुर्याइदिएको भए छोरीको ज्यान जोगिने थियो ।
मेरो सन्तानमध्ये मेरी छोरी गीता ढकाल जेठी थिइन् । मेरा दुई जना छोराछोरी अमेरिकामा छन् । गीताको बिहे २०५० सालमा भएको हो । हामी त्यसबेला चावहिलमा बस्थ्यौँ । बिहेपछि छोरीको बसाइ बूढानीलकण्ठमा भयो । हामी बूढाबूढीको लागि आश्रय भनेकै गीता थिइन् ।
हामीले चावहिलको घर बेचेर बूढानीलकण्ठमा घर किन्यौँ । छोरीको घरबाट २५ मिनेट टाढा हामी बस्थ्यौँ । तर उनले सधैँको लागि छोडेर गइन् ।
२०६८ साल पुस २७ गते दिउँसो १२ बजे छोरीले फोन गरेकी थिइन् ।
उनले भनिन्, 'बुवा आज ज्वाइँ आएर दुवै छोरालाई लगेर गयो । जवाफमा मैले त्यसो भए यता आइज भनेँ । उसको खुट्टा मर्केको रहेछ । बुवा आज खुट्टाले हिँड्नै मिलेको छैन, भोलि आउँछु भनिन् ।
मैले फोन राखेँ । त्यसपछि त हामीले फोन गर्दा सम्पर्क नै भएन । उसले हत्या गर्ने योजना बनाएरै छोराहरु लगेको रहेछ भन्ने प्रष्टै भयो । मेरो छोरीकोे हत्या गर्ने दोषीलाई उन्मुक्ति हुनै सक्दैन र हुनु पनि हुँदैन ।
(गीता ढकालका बुवा हरेराम ढकालसँग उज्यालाे सहकर्मी इन्द्रसरा खड्काले गर्नुभएको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।