बाढी पहिरोका कारण दक्षिण एसियाका ४० लाख बालबालिका प्रभावित

 साउन १३, २०७७ मंगलबार २०:२८:२६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – दक्षिण एसियाली चार देश नेपाल, भारत, बङ्गलादेश र भुटानमा भर्खरैकाे बाढी तथा पहिरोका कारण सात सय बालबालिकाको ज्यान गएको छ । ४० लाख बालबालिका प्रभावित भएका छन् ।

संयुक्त राष्ट्र सङ्घीय बाल कोष युनिसेफका अनुसार बाढी पहिरोका कारण ४० लाख बालबालिका प्रभावित भएका छन् भने कोरोना महामारीको कारण उद्धार, राहत र पुनर्स्थापनामा थप समस्या भएको छ । दक्षिण एसियाको लागि युनिसेफका क्षेत्रीय निर्देशक जिन गफले प्रभावित केही क्षेत्रमा देखिएको कोरानाको सङ्क्रमण, त्यसको नियन्त्रण र रोकथामका लागि अपनाउनु पर्ने सावधानीको कारण जटिलता थपिएको बताउनुभयो । 

सडक, पुल, रेल मार्ग तथा विमानस्थलमा पुगेको क्षतिका कारण थुप्रै क्षेत्रहरू पहुँचबाहिर रहेका कारण उद्धार राहतमा कठिनाइ भएको युनिसेफले जनाएको छ । 

युनिसेफले प्रभावित बालबालिका तथा परिवारहरूका तात्कालीन आवश्यकता पूरा गर्नको लागि सम्बन्धित सरकार र मानवीय सहायता संस्थासँग स्थलगत रूपमै निकट समन्वय गरिरहेको तर कोरोना महामारी तथा त्यसको नियन्त्रण र रोकथामका सावधानीहरू पालना गर्नुपर्ने हुँदा प्रतिकार्यलाई थप जटिल बनाइदिएको जनाएको छ ।

नेपालमा असार २५ गतेयताको बाढी पहिरोले २० जिल्लाका दश हजार जना प्रभावितमध्ये आधाजसो बालबालिका रहेका छन् । सात हजार पाँच सय बालबालिका विस्थापित भएका युनिसेफले जनाएको छ । 

बङ्गलादेशमा मात्रै बाढीबाट १३ लाख बालबालिकासहित २४ लाख मानिसहरू प्रभावित भएको अनुमान गरिएको छ । भारतमा विहार, असाम, उडिशा, गुजरात, महाराष्ट्र, मध्य प्रदेश, केरला, उत्तराखण्ड, उत्तर प्रदेश र पश्चिम बङ्गालमा गरी बाढीबाट प्रभावित ६० लाख मानिसमध्ये  २४ लाख बालबालिका रहेको अनुमान गरिएको छ । 

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया