कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९० पुग्यो

 साउन २८, २०७७ बुधबार १५:३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएको २४ घण्टामा देशका विभिन्न अस्पतालमा गरी थप सात जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । ललितपुरमा चार जना तथा मोरङ, रुपन्देही र सप्तरीमा एक/एक जनाको काेराेना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

पाटन अस्पतालमा उपचार गराइरहेकी जनकपुरकी ३८ वर्षीया महिला र मेडिसिटी अस्पतालमा उपचार गराइरहेका जनकपुरकै ७१ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख, डाक्टर खगेश्वर गेलालले जानकारी दिनुभयो ।

यस्तै ललितपुरको किस्ट अस्पतालको आईसीयूमा उपचाररत बाराको कलैया घर भएका ७५ वर्षीय पुरुष र टेकुकी ७८ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिनुभयो । उनीहरुले त्रिवि शिक्षण अस्पतालमा भेन्टिलेटर नपाएपछि उपचारका लागि किस्टमा ल्याएपछि उपचारकाे क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।

यस्तै बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तु नगरपालिका २ तौलिहवाका ४२ वर्षीय र कपिलवस्तु कृष्णनगरका २५ वर्षीय दुई पुरुषको उपचारको क्रममा मङ्गलबार राति मृत्यु भएको अस्पतालका फोकल पर्सन डाक्टर सुर्दशन थापाले जानकारी दिनुभयो । ज्यान गुमाएका ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको र २५ वर्षीय युवककाे परीक्षण रिपोर्ट आउँन बाँकी रहेको अस्पतालले बताएको छ ।

यस्तै सुनसरीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा मोरङको बूढीगङ्गा गाउँपालिका २ का ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ छातापुर घर भइ राजविराज नगरपालिका ६ मा बस्दै आएका ८० वर्षीय वृद्धको पनि मृत्यु भएको छ । उहाँको मृत्युपछि कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिनुभएको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेकाे सङ्ख्या ९० पुगेको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया