बझाङमा ५० प्रतिशत हाराहारीमा मतदान
बैशाख १५, २०८१ शनिबार
काठमाण्डौ – अबको झण्डै एक महिनापछि असोज ७ गते राष्ट्रकवि माधवप्रसाद घिमिरे एक सय दुई वर्षमा टेक्दै हुनुहुन्थ्यो । तर आफ्नो दोस्रो शताब्दीको दोस्रो वर्ष टेक्न नपाउँदै उहाँको निधन भयो । एक सय एक वर्षका राष्ट्रकवि घिमिरेको मङ्गलबार आफ्नै निवासमा निधन भएको हो ।
अघिल्लो वर्ष जन्मदिनको कार्यक्रममा राष्ट्रकवि घिमिरेले भन्नुभएको थियो, ‘मेरो उमेरको दोस्रो शताब्दी आरम्भ भयो।’ तर दोस्रो शताब्दीको दोस्रो खुड्किलो पार गर्न नपाउँदै उहाँ रहनुभएन । त्यसो त एक सय वर्ष उमेर पार गर्नु नै ठूलो कुरा हो । आफ्नो दोस्रो शताब्दीमा पनि उहाँ उत्तिकै सक्रिय हुनुहुन्थ्यो । सार्वजनिक कार्यक्रममा पुग्नुहुन्थ्यो, घरमा पनि लेखन र सिर्जनामै व्यस्त हुनुहुन्थ्यो ।
आफ्नै मृत्युको हल्ला सुन्न बाध्य
तीन वर्षअघि राष्ट्रकवि घिमिरेको निधनको हल्ला चल्यो । उहाँ सामान्य बिरामी भएर घरमै आराम गर्नुभएको थियो त्योबेला । घरमा आराम गरिरहेको बेला बेलुकीपख उहाँको निधन भएको हल्ला चल्यो । सामाजिक सञ्जालमा गलत हल्ला फैलियो । राष्ट्रकविले यो हल्ला भोलिपल्ट बिहान मात्रै सुन्नुभयो । परिवारका सदस्यले सुनाएपछि उहाँले भन्नुभएको थियो, ‘अरू सबै अनुभव गर्न पाए पनि आफ्नै मृत्युको अनुभव गर्न चाहिँ नपाइने । तर मैले त्यो पनि अनुभव गर्न पाएँ ।’
आज पनि धेरैलाई लाग्यो, राष्ट्रकवि घिमिरेको निधन भएको कुरा हल्ला मात्रै होला ।
जीवनको अन्तिम क्षणसम्मै सक्रिय
राष्ट्रकवि घिमिरे जीवनको अन्तिम क्षणसम्म पनि सक्रिय रहनुभयो । उहाँले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख प्रबन्धजस्ता अनेकौँ विधामा निरन्तर कलम चलाइरहनुभयो ।
उहाँका नवमञ्जरी, घामपानी, नयाँ नेपाल, किन्नर किन्नरी लगायतका कविता सङ्ग्रह सङ्कलित छन् । यस्तै गौरी (शोक काव्य), मालती मङ्गले (गीति नाटक), हिमालपारि हिमालवारि (गीति नाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता लगायतका कृति पनि उत्तिकै चर्चित छन् ।
विसं १९९२ सालमा १४ वर्षको उमेरमा ज्ञानपुष्प शीर्षकमा गोरखापत्रमा पहिलो रचना छपाएर उहाँ काव्य सिर्जनामा प्रवेश गर्नुभएको हो । बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि विसं १९९८ सालमा भाषानुवाद परिषद्बाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा र विसं २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपैयाँ तलबमा सहायक सम्पादक रही काम गर्नुभयो । त्यसपछि २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य हुनुभयो ।
उहाँका गाउँछ गीत नेपाली, फूलको थुङ्गा बगेर गयो, आजै र राति के देखेँ सपना लगायत राष्ट्रिय गीतहरु सबैको मुखमा झुण्डिएको छ।
राष्ट्रकविको भौतिक शरीर नरहे पनि उहाँका सिर्जना, कृति र प्रेरणा अनन्तकालसम्म जीवित रहिरहनेछ ।