निषेधाज्ञाको बेलामा अत्यावश्यक काम परेर बाहिर निस्कनु पर्‍यो भने के गर्ने ?

 भदौ ४, २०७७ बिहिबार ११:४७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरसको जोखिम बढ्दै गएपछि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लागू भएको छ ।

निषेधाज्ञाका कारण उपत्यकाको तीनवटै जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरमा अत्यावश्यक बाहेकका गाडी चलेका छैनन् । जथाभावी चल्ने गाडी र अत्यावश्यक काम नपरी हिँड्ने मान्छेलाई प्रहरीले रोकेर राखेको छ ।

सरकारले अत्यावश्यक कामबाहेक घरबाट ननिस्कन भनेको छ । सरकारले भनेको अत्यावश्यक सेवा लिनका लागि र सरकारले तोकेको भन्दाबाहेक तर अत्यन्तै महत्वपूर्ण काम परेमा कसरी घरबाट बाहिर निस्कने भन्नेमा धेरैलाई अन्योल छ ।

कतिपय मानिसहरु अत्यावश्यक काम नपरी पनि विभिन्न बहाना बनाएर घरबाट निस्कने गरेका भेटिए पनि कतिपय मानिसहरु साँच्चिकै समस्यामा परेर, बिरामी परेर वा अरु कामका कारण पनि घरबाट निस्कन डराइरहेका छन् । तर अत्यावश्यक काम परेमा घरबाट बाहिर निस्कन पाइने भएकाले डराउन नपर्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो ।

उहाँ भन्नहुन्छ, ‘अत्यावश्यक काम पर्‍यो, इमर्जेन्सी भयो भने त घरबाट बाहिर निस्कन पाइहालिन्छ नि । अनावश्यक रुपमा पो बाहिर ननिस्कनु भनेको हो त ।’ उहाँ भन्नुहुन्छ, ‘बिरामी परेमा, औषधि चाहिएमा, कसैको ज्यान गएर मृत्यु संस्कार गर्न परेमा घरबाट निस्कन पाइँदैन भनेर हुँदैन । त्यतिबेला त जसरी पनि निस्कनु पर्छ ।’

खाद्य बस्तु किन्नका लागि पनि पसल खोलेको समयमा घरबाट बाहिर निस्कन पाइने उहाँ बताउनुहुन्छ । तर त्यसका लागि अति आवश्यक कामको लागि जान लागेको हो भनेर प्रमाण भने देखाउनुपर्छ । जस्तै बिरामी भएमा बिरामीको कार्ड प्रमाणको रुपमा देखाउन सकिन्छ ।

बिरामीको कार्ड छ भने नीजि गाडीमा पनि जान सकिन्छ । यस्तै एक्कासी खाना पकाउने ग्याँस सकियो, चामल लगायतका खाद्यान्न सकियो भने किन्न जानका लागि प्रहरीले रोक लगाउँदैन । प्रमाणित गर्ने कागज पत्र नभएमा भने मौखिक रुपमा भन्न सकिने उहाँले बताउनुभयो ।

तर बाहिर निस्कनका लागि बहाना बनाएमा भने कारवाही हुने उहाँको भनाई छ । आज निषेधाज्ञाको पहिलो दिन भएकाले कतिपय मानिस यक्तिकै पनि लखरलखर हिँडेको पाइएकाले सम्झाउने काम भइरहेको उहाँले बताउनुयो ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया