विदेशको कमाइले टरेन घरको गुजारा, फर्केर गाउँमै बाख्रापालन

 भदौ ११, २०७७ बिहिबार १८:३५:३२ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – परिवारको सुखद भविष्यको सपना बोकेर २१ वर्षकै उमेरमा परदेश भासिनुभयो, लमजुङ सुन्दरबजार नगरपालिका–९, पैह्रेका दिपेन्द्रबहादुर भुजेल । ११ वर्षसम्म परदेशमा श्रम–पसिना बगाउनुभयो, उहाँले ।
तर विदेशमा सोचेजस्तो कमाइ भएन । 

‘११ वर्ष मलेसियामा बसेँ, विदेशमा दुःख ज्यादा, कमाई कम भयो,’ उहाँले भन्नुभयो, ‘परदेशको कमाइले घरपरिवारको गुजारा टार्न पनि सकस भयो ।’

विदेशमा राम्रो कमाइ नभएपछि गाउँघरमै केही उद्यम गर्नुपर्छ भन्दै उहाँ स्वदेश फर्किनुभयो  । घर फर्केपछि सुरुमा उहाँले कुुखुरा र बंगुर पाल्नुभयो । तर यस व्यवसायबाट पनि राम्रो कमाइ भएन । त्यसपछि, उहाँले परिवारको सल्लाहमा बाख्रापालन गर्ने सोच बनाउनुभयो ।

घरगाउँमै उद्यम

उहाँले २०७५ सालबाट घरपरिवारको सल्लाहमा गाउँघरमै व्यवसायिक बाख्रापालन सुरु गर्नुभयो । सुरुमा सुधारिएको खोर निर्माण र बाख्रा खरिदमा २ लाख रुपैयाँ लगानी गर्नुभयो ।  १८ वटा माउ बाख्राबाट उहाँको बाख्रापालन व्यवसाय सुरु भयो ।

अहिले उहाँको फर्ममा सानाठूला गरी ३५ वटा बाख्रा रहेका छन् । उहाँको फर्ममा ‘बोयर’ जातका साथै स्थानीय जातका बाख्रा पनि पालिएका छन् । बाख्रापालन व्यवसायमा उहाँलाई घरपरिवारको पनि उत्तिकै साथ÷सहयोग मिल्दै आएको छ । व्यवसायबाट उहाँले आम्दानी लिन पनि सुरु गरिसक्नुभएको छ ।

‘बिस्तारै उत्पादन सुरु भएको छ, उत्पादनको सुरुको चरणमै झण्डै ७० हजार रुपैयाँ आम्दानी भएको छ,’ उहाँले थप्नुभयो । मनमा  जोस र पाखुरामा जाँगर भए, स्वदेशमै बसेर कृषि तथा पशुपालन गरी मनग्य आम्दानी गर्न सकिने उहाँ बताउनुहुन्छ ।

परिवार खुशी

छोरा विदेशबाट फर्किएर आफ्नै गाउँघरको माटोमा उद्यम गरेकोमा दिपेन्द्रका बुवा गंगाबहादुर घर्ती पनि खुशी हुनुुहुन्छ । ‘विदेशमा छोरालाई खासै राम्रो भएन, छोराले अहिले स्वदेशमा उद्यम गरेकोमा खुशी लाग्छ’ उहाँ भन्नुहुन्छ ।

बाख्रापालन व्यवसायलाई बिस्तारै थप व्यवस्थित र विस्तार गर्दै लैजाने दिपेन्द्रको लक्ष्य रहेको छ । तरकारी खेतीका साथै एक सय माउ बाख्रा पाल्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । दिपेन्द्रले बाख्रापालनका लागि आफ्नो ८ रोपनी जग्गामा घाँस खेती पनि गर्नुभएको छ ।

बाख्रापालनमा किसानको आकर्षण

लमजुङमा दिपेन्द्रजस्तै झण्डै २ सय ५० बढी किसान व्यवसायिक बाख्रापालनमा आवद्ध छन् । स्वदेशमा रहेका साथै विदेशबाट फर्किएका लमजुङका युवाहरु अहिले घरगाउँकै माटोमा श्रम–पसिना बगाउन व्यस्त छन् । कृषि तथा पशुपालन व्यवसायबाटै उनीहरुले राम्रो कमाइ गर्दै आएका छन् ।

कम लगानी र श्रममा धेरै आम्दानी लिन सक्ने भएकाले युवाहरु बाख्रापालन व्यवसायमा जुटिरहेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञका प्रमुख डा. रुपेश श्रेष्ठले बताउनुभयो ।

‘लमजुङमा बाख्रापालनको उच्च सम्भावना छ, बाख्रापालन व्यववसायबाट कम लगानी, श्रममा धेरै आम्दानी लिन सकिन्छ’, डा. श्रेष्ठले भन्नुभयो,  ‘जिल्लामा यो व्यवसायमा किसानको आकर्षण बढ्दो छ ।’ 
व्यवसायिक पशुपञ्क्षी पालक किसानलाई विज्ञ केन्द्रले सघाउँदै आएको पनि उहाँले बताउनुभयो । 

यस्तै आवश्यक पूर्वाधार निर्माणका साथै ज्ञान, सीप, तालिम लिएर व्यवसायिक बाख्रापालनले गाउँघरमै युवा स्वरोजगार बन्न सक्ने सम्भावना रहेको पनि उहाँ बताउनुहुन्छ ।


 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया