एम्बुलेन्स दुर्घटना : काठमाण्डौमा कोरोना सङ्क्रमण हुने डरले सुत्केरी गराउन श्रीमतीलाई घर लाँदै थिए कृष्ण

 भदौ १४, २०७७ आइतबार १९:५:३६ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – ६ वर्षको छोरा काठमाण्डौमै छाडेर गर्भवती श्रीमतीलाई एम्बुलेन्समा बाेकेर घर आउनुभएका स्याङ्जा चापाकोटका भानुभक्त गैह्रे (कृष्ण)को एम्बुलेन्स दुर्घटनामा परि ज्यान गयो ।

काठमाण्डौमा बस्दै आउनुभएका कृष्ण श्रीमतीको स्वास्थ्य सुरक्षाकै लागि बा २ झ ४०११ नम्बरको एम्बुलेन्समा घर जाँदै हुनुहुन्थ्यो । तर वालिङ ५ मझकोटमा आईतबार बिहान एम्बुलेन्स दुर्घटना हुँदा गैह्रेसहित दुईजनाको ज्यान गयो ।

विश्वभर फैलिएको कोरोना सङ्क्रमणले काठमाण्डौमा भन्दा घरमा नै बच्चा जन्माउन सुरक्षित हुने स्वास्थ्यकर्मीले सल्लाह दिएका थिए । त्यही सल्लाह मान्नुभयाे कृष्णले पनि । शनिबार बिरामी लिएर काठमाण्डौ गएको एम्बुलेन्समा उहाँ स्याङ्जा आउनुभयाे । एम्बुलेन्समा चालकसहित अरु चारजना सवार थिए । तर घर पुग्नै नपाइ एम्बुलेन्स दुर्घटना भयाे ।

दुर्घटनामा कृष्णसँगै चापाकोट नगरपालिका ९ का श्याम पंगेनीको पनि निधन भएकाे छ । एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी र गर्भवती रहेकी कृष्णकी श्रीमती पवित्रा पोख्रेलकाे पोखरामा रहेको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पवित्राले श्रीमान् त गुमाउनुभयो उहाँको पेटमा रहेको बच्चालाई पनि बचाउन सकिएन ।  चापाकोट नगर स्वास्थ्य प्रमुख बिन्दु कोइरालाका अनुसार घाइते पवित्राको पेटमा भएको बच्चा दुर्घटनाका कारण ज्यान गइसकेको थियो । 
कोइरालाका अनुसार चालक भण्डारी र पवित्राको स्वास्थ्य भने सामान्य रहेको छ । एम्बुलेन्स ग्रामिण सडकबाट झण्डै दुईसय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।  पहिरोले साँघुरो सडक र लामो दूरीको यात्रा हुँदा दुर्घटना भएको अनुमान प्रहरीको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

एम्बुलेन्स दुर्घटना भएको खबरले आफूहरुलाई दु:खी बनाएको चापाकोट नगर प्रमुख शिवकुमार गिरीले बताउनुभयो । घाइते र मृतकका परिवारमा धैर्यधारण गर्नसमेत नगर प्रमुख गिरीले आग्रह गर्नु भएको छ ।
 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया